यदुप्रसाद भट्ट
मनाङ, पुस २० गते । गण्डकीमा याकको नस्ल सुधारका लागि सोलुखुम्बुबाट पुस १२ गते हिँडाइएका ९ वटा याक मनाङ आइपुगेको छ । याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका ९ वटा याक एक कार्यक्रम गरी मनाङका किसानलाई वितरण गरिएको हो ।
प्रदेश सांसद मुनिन्द्रजङ्ग गुरुङको उपस्थितिमा मनाङका तीन पालिकामा याक वितरण गरिएको मनाङ याकचौरी पालन तथा संरक्षण संस्थाको अध्यक्ष सुरेश थकालीले बताउनुभयो । उहाँले मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङको समूहलाई एउटा, भ्राकामा रहेका तीन वटा गोठलाई एउटा याक वितरण गरिएको बताउनुभयो ।
नासोँ गाउँपालिकाका तीन वटा समूहलाई एकएकको दरले गरी तीन वटा याक वितरण गरिएको छ भने चामे गाउँपालिकामा एउटा समूहलाई र एउटा तीन गोठको समूहलाई वितरण गरिएको छ । बाँकी दुई वटा याक मनाङ याकचौरी पालन तथा संरक्षण संस्थामा हेरालुको व्यवस्था गरी राखिएको अध्यक्ष थकालीले बताउनुभयो ।
चार वटा पालिका रहेको मनाङमा हरेक पालिकालाई दुई वटाका दरले वितरण गर्ने भनिए पनि नार्पाभूमि गाउँपालिका विकटमा रहेको र हाल सो पालिकाकाको कोही पनि व्यक्ति सम्पर्कमा नआएकाले त्यहाँ वितरण गर्ने भनिएका याक संस्थामै राख्नुपरेको थकालीले बताउनुभयो । थकालीले २५ प्रतिशत किसानले बेहोर्नुपर्ने गरी ती याक वितरण गरिएको जानकारी दिनुभयो । सबै याकको बिमा गरिएको, काटमार तथा बेचबिखन गर्न नपाइने सर्तमा किसानलाई वितरण गरिएको थकालीको भनाइ छ ।
पशुसेवा तथा भेटेरिनरी कार्यालय मनाङका प्रमुख नरेन्द्र राईले मनाङ याकचौरी पालन तथा संरक्षण संस्थाको नेतृत्वमा जिल्लाभरिका किसानलाई वितरण गरिएको बताउनुभयो । गण्डकीको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ल्याएका सबै भाले याक हुन् । मनाङका लागि नौ याक लिएर निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठसहितको टोली बिहीबार मनाङ आइपुगेको थियो ।
हाडनाता प्रजनन्ले मनाङका याकको नस्ल राम्रो नभएकाले किसानको २५ प्रतिशत लागत साझेदारीमा ती याक वितरण गरिएको हो । सरकारी मूल्य अनुसार २० देखि २५ हजारमा ती याक किनिएको निर्देशनालयले जनाएको छ ।