• १३ साउन २०८१, आइतबार

हाडजोर्नी तथा नसासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

blog

बिरामीको निःशुल्क उपचार गरिँदै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, पुस २० गते । दोलखाको सदरमुकाम चरीकोटमा हाडजोर्नी तथा नसासम्बन्धी तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको आयोजना तथा सुस्वास्थ्य हस्पिटल काठमाडौँको प्राविधिक सहयोगमा विशेषगरी ग्रामीण भेगका बिरामीलाई लक्षित गरी यो शिविर सञ्चालन गरिएको शाखाका महामन्त्री भरत प्रधानले जानकारी दिनुभयो । 

शुक्रबार भएको शिविर उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिका नगर प्रमुख ईश्वरनारायण मानन्धरले हाडजोर्नी र नसासम्बन्धी रोगीहरूलाई राम्रो अवसर भएकाले उपचार गराउन आग्रह गर्नुभयो । 

शिविरमा दुई चिकित्सकसहित नौ जनाको टोली रहेको छ । शिविरसम्बन्धी जानकारी दिँदै सुस्वास्थ्य अस्पतालका डा. सुदर्शन बस्नेतले भन्नुभयो, “विशेषगरी हाडजोर्नी नसासम्बन्धी रोगीका लागि यो शिविर सञ्चालन गरिएको हो । शिविरमा बाथ, पिनास, डिप्रेसन, अनिद्राका साथै कम्मर, गर्दन, घुँडा, जोर्नी दुख्ने, नसासम्बन्धी र माइग्रेनसम्बन्धी उपचार हुनेछ ।”

दिनमा सयभन्दा बढी र तीन दिनमा चार सयभन्दा बढीको उपचार गर्ने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो, “थेरापीको माध्यमबाट उपचार गरिने हुँदा औषधिको प्रयोग हुँदैन । हरेक वर्ष यस्ता तीन वटा शिविर गरिने गरिएको छ । हरेक वर्षको तीनमध्ये एक शिविर दोलखामा गरिने अस्पतालले लक्ष्य राखेको छ ।” 

आगामी आइतबारसम्म सञ्चालन हुने यो शिविरबाट पीडित रोगीले सक्दो सेवा लिन आग्रह गर्दै आएका बिरामीलाई रातिसम्म उपचार गराएर मात्र पठाउने उहाँले बताउनुभयो ।