• १२ मंसिर २०८१, बुधबार

जुम्लाकी अटोचालक

blog

नेत्र शाही 

जुम्ला, पुस २० गते । पातारासी गाउँपालिका–७ की ३० वर्षीय कल्पना बुढा जुम्लाकी एक्लो महिला अटोचालक हुनुहुन्छ । महिलाले चलाएको भनेर धेरैजसो यात्रुले हौसला पनि दिने गरेका छन् ।

कल्पनाका बुवा भैरबहादुर बुढा हल्कारा हुनुहुन्थ्यो । कल्पनाले स्थानीय महारुद्र आधारभूत विद्यालय पटमारामा कक्षा ४ सम्म अध्ययन गर्नुभयो । त्यसपछिका दिनमा सरस्वती मावि हुँदै जिल्ला सदरमुकामको चन्दननाथ मावि खलङ्गामा अध्ययन गर्नुभयो । ७ कक्षामा अध्ययन गर्दै गर्दा गाउँकै एक जनासँग कल्पनाले विवाह गर्नुभयो । विवाहपछि श्रीमान्ले अर्कै युवती लिएर भारततिर भागेपछि कल्पनाको सङ्घर्षका दिन सुरु भए ।

उहाँले सङ्घर्षका समय सुनाउनुभयो, “१३ वर्षमा विवाह । १७ वर्षको उमेरमा छोराको जन्म । छोरा जन्मिएको १७ दिनमा श्रीमान्ले अर्की युवती लिएर भारततिर भागेपछि जीवन सङ्घर्षमै समय बितिरहेको छ ।” 

उठाएको पैसाले अटो 

१३ वर्षमा विवाह । १७ वर्षमा आमा बन्नेबित्तिकै सौता बेहोर्नु परेकी कल्पनाका कहालीलाग्दा कथा छन् । छोराको लालनपालन, शिक्षादीक्षा र बेरोजगारीले चिन्तित कल्पना माइतीमै बस्न थालिन् । सोही क्रममा पाँच वर्षअघि भाइ सुवासले अटो चलाउन सकिन्छ भने आँट दिएका थिए । कुनै समय लागुऔषध प्रयोगकर्ता सुभास अहिले सुध्रिनुभएको छ । जुम्ला सदरमुकाममा लागुऔषधविरुद्धको कर्णाली टिन च्यालेन्ज एन्ड ड्रग रिहाबिटेसन सेन्टर सञ्चालन गर्दै सुवासले समाजमा उदाहरणीय काम गरिरहनुभएको छ । 

सुवासकै सल्लाहमा सुर्खेतमा गएर कल्पनाले अटो चलाउने तालिम लिनुभयो । तालिम लिएर आएपछि ‘अटो त चलाउने बजेट कसरी गर्ने ?’ भन्ने विषयमा माइतीघरमा बहस चल्यो । आमा, भाउजू, दिदी, बुवा, भाइ सबैले रकम उठाएर तीन लाख पहिलो किस्ता तिरेर अटो निकालेपछि कल्पना अटोचालक बन्नुभयो ।

मासिक तिस हजार आम्दानी

अटो व्यवसाय राम्रोसँग सञ्चालन भइरहेको छ । चन्दननाथ नगरपालिकाभित्र यात्रुलाई सेवा दिइँदै आएको छ । अटो चलाएर मासिक तिस हजार रुपियाँ आम्दानी हुने कल्पनाले बताउनुभयो । बर्खायाम तथा पर्यटक आउने समयमा त मासिक ४० देखि ५० हजार आम्दानी हुने गरेको कल्पनाले बताउनुभयो । उहाँका अनुसार त्यो आम्दानीले छोरालाई पढाउन, औषधी उपचार र घरखर्च चलाउन सजिलै भएको छ । छोरा अहिले १२ वर्षको र कक्षा ५ मा निजी विद्यालयमा अध्ययन गर्दै आउनुभएको छ ।