• १३ मंसिर २०८१, बिहिबार

विकासे योजना अनुगमन गर्न मुख्यमन्त्री जिल्ला भ्रमणमा

blog

बैतडी समाचारदाता 

बैतडी, पुस २० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विकासे योजनाको अनुगमन तथा निरीक्षण गर्न जिल्ला भ्रमणमा निस्कनुभएको छ । सोही क्रममा उहाँ बैतडी जिल्ला आइपुग्नुभएको छ । यस प्रदेशका नौ वटै जिल्लामा पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । 

मुख्यमन्त्री शाहले गोठालापानीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था र प्रगति बुझ्न पहिलो चरणमा दार्चुला, बैतडी र डडेलधुरा जिल्ला भ्रमणमा निस्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार नागरिकसँग प्रत्यक्ष भेटघाट गर्न जिल्लामै पुगेको छ ।” पहाडी जिल्लाको भ्रमण सकेर अन्तिममा कैलाली र कञ्चनपुरको भ्रमण हुने बताउनुभयो । 

दार्चुला भ्रमण सकेर बैतडी आउनुभएका मुख्यमन्त्री शाहले प्रदेश सरकारले एक वर्षको अवधिमा स्थानीय तहलाई एक अर्बभन्दा बढीको वित्तीय समानीकरण बजेट पठाएको बताउनुभयो । 

“अघिल्लो प्रदेश सरकारले पाँच वर्षमा एक अर्ब रुपियाँ दिएको थियो, हाम्रो सरकारले एक वर्षमै एक अर्ब रुपियाँ स्थानीय तहमा पठाएका छौँ,” मुख्यमन्त्री शाहले भन्नुभयो । प्रदेशको बजेट बाँड्दा वडा, स्थानीय तह र प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला समन्वय समितिबाट योजना माग गरेका थियौँ । ती योजना समयमै सम्पन्न भए/नभएको विषयमा स्थलगत अवलोकन तथा निरीक्षण कार्यक्रम आयोजना गरिएको हो । 

मुख्यमन्त्री शाहले प्रदेश गौरवका आयोजना भन्ने तर समयमै सम्पन्न गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्नका लागि त्यस्ता योजना राखिराख्ने कि 

हटाउने ? भन्ने विषयमा प्रदेश सरकारले पुनर्विचारसमेत गर्ने बताउनुभयो । सञ्चारकर्मीले प्रदेश सरकारबाट आवश्यकताका आधारमा भन्दा पनि भनसुनका भरमा योजना आउने गरेको नागरिकको गुनासोबारे जिज्ञासा राख्दा मुख्यमन्त्री शाहले भन्नुभयो, “त्यस्ता योजना छन् भने प्रमाण लिएर आएमा तुरुन्तै हटाइन्छ ।” 

“प्रदेश सरकारले कहीँ कसैलाई पनि काखापाखा गर्दैन,” मुख्यमन्त्री शाहले थप्नुभयो, “सबै जिल्लाका स्थानीय तह र वडामा समान ढङ्गले बजेट पठाउने गरेका छौँ ।”

दार्चुला भ्रमण गर्दा कतिपय स्थानीय तहमा बाटो पुग्न नसकेको जानकारी दिँदै उहाँले त्यस्तो अवस्थामा बैतडीभन्दा दार्चुला पहिलो प्राथमिकतामा पर्छ । त्यहाँ भनसुनमा योजना गएको भन्न नमिल्ने धारणा राख्नुभयो । 

नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेकाप्रति सञ्चारकर्मीले मुख्यमन्त्री शाहको ध्यानाकर्षण गराएका छन् । स्थानीय तहलाई औषधी किन्न आउने बजेट न्यायोचित नभएको गुनासो राख्दै सञ्चारकर्मीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।