अमरगढी समाचारदाता
डडेलधुरा, पुस २० गते । नेपाल सरकारले देशका विभिन्न १० वटा सहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुरूप सदरमुकाम अमरगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन भएको छ ।
अमरगढी सहरभित्रका सडक स्तरोन्नतिका लागि नयाँ सहर आयोजना समन्वय कार्यालयमार्फत ९१ करोड रुपियाँ बजेट विनियोजन भएको हो । २०७५ सालमा अमरगढी स्मार्ट सिटी निर्माण गुरु योजना (मास्टर प्लान) तयार गरिएको थियो ।
नयाँ सहर आयोजना समन्वय कार्यालय काठमाडौँले अमरगढी स्मार्ट सिटी अन्तर्गत बागबजार–टुँडिखेल–हस्पिटल–रिङ रोड र लिङ्क रोडहरू गरेर १६.८४४ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्य भइरहेको कार्यालयका इन्जिनियर मोनिका महर्जनले जानकारी दिनुभयो ।
पर्यटकीय, व्यापारिक र कृषि उत्पादनका लागि प्रख्यात ठाउँहरूलार्ई थप व्यवस्थित बनाइ स्मार्ट सिटीको परिकल्पना गरिएको उहाँले बताउनुभयो । स्मार्ट सिटीका लागि आवश्यक भवन, विद्युत्, खानेपानी, फोहोर व्यवस्थापन, यातायात, शिक्षालगायत सुविधा हुन आवश्यक छ । स्मार्ट सिटी अन्तर्गत अमरगढी नगरपालिकामार्फत उग्रतारा मन्दिर, घटालथान, रावतोली विशकुटी गुफा क्षेत्रमा केही रकम खर्च गरेर पूर्वाधार निर्माणका काम गरिएको छ ।
स्मार्ट सिटी योजना निर्माणका लागि विनियोजन भएको बजेटबाट केही थप पूर्वाधारहरू निर्माणको काम भइरहेको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले बताउनुभयो । “भौतिक पूर्वाधार निर्माणका धेरै योजना माग भएका छन्,” उहाँले भन्नुभयो, “अहिले बजेट नै घटेर आएपछि सबै योजना समेट्न सकिएको थिएन । स्मार्ट सिटी अन्तर्गत आउने बजेटले नगरभित्रका सडकमा नाली, पर्खाल निर्माणका साथै कालोपत्रे गरिएको छ ।”