• ४ असार २०८१, मङ्गलबार

जनकपुरधामबाट कोसेली बोकेर अयोध्या प्रस्थान

blog

अयोध्या पठाउनका लागि जानकी मन्दिर प्रांगणबाट भार (कोसेली) सहित भार यात्रा अयोध्यका लागि प्रस्थान। तस्बिरः लक्ष्मी चौधरी।

लक्ष्मी चौधरी

जनकपुरधाम, पुस १९ गते। जानकी मन्दिरबाट राम जन्मभूमि अयोध्याका लागि भार (कोसेली ) बोकेर जनकपुरधामवासी अयोध्याका लागि प्रस्थान भएका छन्। 

जनवरी २२ तारिख (माघ ८ गते) भारतको अयोध्यास्थित नवनिर्मित राम मन्दिरमा हुने रामजीको प्राणप्रतिष्ठाका लागि रामजीको ससुराली पक्ष अर्थात् जानकी मन्दिरबाट १५ सय वटा भारको डालो  लिएर जनकपुरधाका प्रमुख मनोजकुमार साह, जानकी मन्दिरका महन्थका उत्तराधिकारी रामरोशन दाससहितको सयौँ जनाको टोली बिहीबार अयोध्याका लागि प्रस्थान भएका हुन्। 

त्रेता युग माता जानकी र मर्यादा पुरुषोत्तम श्री रामको वैवाहिक सम्बन्धका कारण जानकी मन्दिरका महन्थ उत्तराधिकारी दासको नेतृत्वमा पहिलो पटक सिताको ससुराली अर्थात् रामको घर अयोध्यामा भार पठाउन लागिएको हो। भारमा विभिन्न खालका पकवान, मिठाई, फलफूल, मखान, कपडाल, गरगहनालगायतका वस्तु राखिएका छन्। 

एघार सय भार लिएर जनकपुरधामबाट जानकी मन्दिरका महन्थका उत्तराधिकारी रामरोशन दाससहित २ सय ५१ जनाको बिहीबार बिहान बाजागाजासहित अयोध्याका लागि प्रस्थान भएका छन् भने उक्त भार यात्रालाई प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिदाइ गर्नुभयो। 

जनवरी २२ तारिखका दिन भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामजीको प्राणप्रतिष्ठाको  निमन्त्रणा आएपछि सोही अवसरमा जनकपुरधामबाट पहिलो पटक दुई सय ५१ जनाको टोली भार (कोसेली) लिएर पूर्व निर्धारित समयानुसार अयोध्याधामका लागि ४ जनवरी जनकपुरधामबाट प्रस्थान भएको छ। 

मिथिला परम्पराअनुसार अनुसार छोरीको ससुरालमा हुने घरवासमा माइती पक्षबाट भार (कोसेली) पठाउने परम्परा छ, त्यस अनुरूप रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरबाट रामको घर अयोध्यामा भार लिएर जान थालेको जानकी मन्दिरका उत्तराधिकार महन्थ दासले बताउनुभयो। 

मिथिला परम्परा अनुसार छोरीको नयाँ घर प्रवेशमा हुने घरबासमा माइती पक्षबाट कोसेलीका रूपमा आभूषण, लत्ताकपडा, पकवानलगायतका सामग्री पठाउने गरिन्छ, सोही अनुरूप जानकी जीको माइती पक्ष मिथिलाबाट ती सामग्री लिएर उक्त टोली अयोध्या प्रस्थान भएको महन्थका उत्तराधिकारी रामरोशनले जानकारी दिनुभयो। उहाँले विभिन्न प्रकारका पकवान वा फलपूल तथा अन्य सामग्री सहयोग गर्नका लागि पत्रकार सम्मेलन गर्दै जनकपुरधामवासीलाई आग्रह समेत गर्नुभएको थियो। सोही अनुसार अयोध्या प्रस्थान गर्नु एकदिन अघि नै भार सङ्कलन भएको थियो। 

यात्रा जनकपुरधामबाट जलेश्वरनाथ हुलाकी सडक हुँदै मलंगवा (बलारा) बाट सिम्रौनगढ–गढीमाई–वीरगञ्जमा रात्रि विश्राम गर्ने योजना रहेको छ। भोलि पल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकी नगर गेट हुँदै बेतिया कुशीनगर सिद्धार्थनगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्रि विश्राम गर्ने कार्यक्रम रहेको छ। अध्योध्या पुगेको भोलि पल्ट ६ तारिखको ९ बजे विधिवत् राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको दासले जानकारी दिनुभयो।

यता जनकपुरधामका प्रमुख मनोजकुमार साहले दुई सय ५१ जनाको टोलीमा आफू सहभागी भए पनि जनकपुरधामको प्रमुखको तर्फबाट आयोध्याधामका प्रमुखलाई समेत छुट्टै भार लिएर जाने बताउनुभयो। उहाँले मिथिला परम्परा अनुसार भार लैजाने तयारी आफू जुटेको बताउनुभयो।  सासुर पक्ष मिथिला क्षेत्रबाट पाहुर पक्षलाई भार आइरहेको खबरले अयोध्यामा खुसी छाएको खबर आफूहरूले पाएको नगर प्रमुख साहले सुनाउनुभयो।