• ७ जेठ २०८१, सोमबार

माघे सङ्क्रान्ति मेला सञ्चालन हुने

blog

माघे सङ्क्रान्ति मेलाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलन । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), पुस १९ गते । म्याग्दी सदरमुकाम बेनीमा माघे सङ्क्रान्ति मेला सञ्चालन हुनेभएको छ । मौलिक कला, संस्कृति र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गत महिला उद्यम विकास समितिको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने भएको हो । 

बिहीबार आयोजित पत्रकार सम्मेनमा महिला उद्यम विकास समिति म्याग्दीका सभापति अम्बिका श्रेष्ठले मेलामा खुल्ला नृत्य, आमा एकल लोक नृत्य, खुल्ला अन्धनिसान, लुठो तान्ने र छेलोलगायत प्रतियोगिता सञ्चालन हुने जानकारी गराउनुभयो ।

उहाँका अनुसार खुल्ला नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः २० हजार, १० हजार र ५ हजार रुपियाँ तथा आमा एकल लोक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ६ हजार र   तीन हजार रुपियाँ नगद र प्रमाणपत्रलगायत पुरस्कार प्राप्त गर्नेछन् । 

मेला अवधिभर मेलामा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनका प्रदर्शनी स्थल पनि राखिने भएको छ । साथै, मेलामा महिला उद्यमीलाई सम्मान गरिने भएको छ । मेलालाई सफल बनाउन २२ वटा उपसमिति समेत गठन गरिएको समितिकी निवर्तमान सभापति लक्ष्मी भण्डारी कार्कीले बताउनुभयो ।