• ६ जेठ २०८१, आइतबार

विद्यार्थीलाई न्यानो कपडा वितरण

blog

भैरव प्राविमा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण पश्चात् लिइएको सामूहिक फोटो । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, पुस १९ गते । पूर्वी मकवानपुरमा ९४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपाल अन्तर्गतको डिजाइन यूथ क्लब नेपाल मकवानपुरले बागमती गाउँपालिका–८ को भैरव प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको हो ।

गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीको पहिचान गरी न्यानो कपडा टोपी, सुइटर, शैक्षिक सामग्री वितरण गरेको डिजाइन यूथ क्लब नेपाल मकवानपुर संयोजक विवेक सुवेदीले जानकारी दिनुभयो । २०६५ मा काठमाडौँमा स्थापना भएको संस्थाले प्रत्येक वर्ष आफूहरूले न्यून आय भएका विद्यार्थीलाई यसैगरी सहयोग गर्दैआएकाले यस वर्ष पनि सहयोग गरिएको उहाँको भनाइ छ । 

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले ग्रामीण क्षेत्रको विद्यालयमा आएर संस्थाले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नुभएको छ । विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा भैरव प्राथमिक विद्यालयका प्रधानाध्यापक हेमुराना मगरले संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । 

पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको सङ्ख्या घट्दैगएको बताउँदै उहाँले न्यानो कपडा हस्तान्तरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सामाजिक कार्यमा अग्रसर संस्थाले प्रत्येक महिनाको अन्तिम शनिवार जिल्लामा निःशुल्क स्वास्थ्य शिविर गर्नुका साथै निःशुल्क औषधि वितरण पनि गरिरहेको छ भने प्रत्येक वर्ष विपन्न र गरिब विद्यार्थीका लागि न्यानो कपडा, असहायका लागि खाद्यान्न वितरण, ज्येष्ठ नागरिक सम्मान, सामाजिक सेवा मन्दिर सरसफाइलगायत सामाजिक कार्यक्रममा स्वयंसेवक रूपमा सहयोग गर्दैआएको छ ।

यस्तै, मकवानपुरको मनहरी –४ मसिनेस्थित पशुपतिनाथ माविका ९३ जना बालबालिकालाई न्यानो ज्याकेट वितरण गरिएको छ । विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालले बालबालिकालाई ज्याकेट उपलब्ध गराएको हो ।  

मनहरी–४ का वडा सदस्य दिनेश चेपाङ, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, सहायक प्रअ सुशील गौतमलगायतले ज्याकेट वितरण गर्नुभयो । न्यानो ज्याकेट पाएपछि बालबालिकालाई नियमित विद्यालय आउनका लागि अब समस्या नहुने वडा सदस्य चेपाङले बताउनुभयो ।

हेल्पकोड नेपालका कार्यक्रम संयोजक इन्द्रप्रसाद पाण्डे, फिल्ड अधिकृत विकास चेपाङले वार्षिक कार्यक्रमबाट बचेको रकमबाट बालबालिकालाई ज्याकेट उपलब्ध गराइएको जानकारी दिनुभयो । यसअघि मनहरी –४ को सिर्जना प्राविका बालबालिकालाई पनि न्यानो ज्याकेट वितरण गरिएको हेल्पकोडका फिल्ड अधिकृत विकास चेपाङले जानकारी दिनुभयो ।