बोमलाल गिरी
नवलपुर, पुस १९ गते । नवलपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाले आक्रमण गरी कावासोती नगरपालिका –८ का ६५ वर्षीय पतिराम महतोलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
स्थानीय मनकामना सामुदायिक वनमा दाउरा खोज्ने क्रममा महतोलाई गैंडाले आक्रमण गरी घाइते बनाएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
उहाँलाई तत्काल उपचारका लागि कालिगण्डकी नारायणी सामुदायिक अस्पताल लगिएकोमा त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो । महतोको दाहिने खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।