• ६ माघ २०८१, आइतबार

'भिजिट जनकपुरधाम २०२४' सुरु

blog

जानकी मन्दिर प्राङ्गणमा भिजिट जनकपुरधाम २०२४ को शुभारम्भ हुँदै । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी  

जनकपुरधाम, पुस १९ गते । सन् २०२४ लाई जनकपुरधाम भ्रमण वर्षका रुपमा मनाउन जानकी मन्दिर प्राङ्गणबाट ‘भिजिट जनकपुरधाम २०२४’ को सुरु गरिएको छ । महागङ्गा आरती गङ्गासागरका संस्थापक संस्कृति संरक्षण अभियन्ता प्रदेश सांसद रामअशिष यादवले बुधबार जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणबाट ‘सियाको दर्शन बिना रामको दर्शन अधुरो’ भन्ने मूल नाराका साथ भिजिट जनकपुरधाम २०२४ लाई भ्रमण वर्षका रुपमा सफल बनाउन उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

प्रदेश सांसद यादवले भारतको श्रीराम जन्मभूमि अयोध्यामा २२ जनवरीको दिन हुने श्री राम मन्दिरको प्राणप्रतिष्ठापछि जनपुरधाममा भारतीय धार्मिक पर्यटकहरुको सङ्ख्यामा वृद्धि हुने विश्वास लिएको बताउनुभयो । यस्तै, सोसाइटी ट्राभल्स एण्ड टुर अपरेटर (सोटो) नेपाल मधेश प्रदेशका अध्यक्ष पर्यटन व्यवसायी वीरेन्द्र साहको अध्यक्षतामा सञ्चालित जनकपुरधाम भिजिट वर्ष २०२४ लाई सरोकारवाला निकाय सबै मिलेर सफल बनाउन आग्रह गर्नुभयो । उहाँले निजी पर्यटन व्यवसायीहरु मिलेर यो वर्षलाई जनकपुरधाम भ्रमण वर्ष बनाए पनि यसमा सम्पूर्ण नगरवासी तथा सरोेकारवाला निकायको साथ सहयोग रहने बताउनुभयो । 

उक्त शुभारम्भ कार्यक्रममा जानकी मन्दिरका महन्थका उत्तराधिकारी रामरोशन दास, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनीषरमण साह, उपाध्यक्ष अम्भुप्रसाद साहसहितका वक्ताहरूले जनकपुरधाममा पर्यटन प्रवर्धनका लागि भिजिट जनकपुरधाम २०२४ को शुभारम्भ गर्नु फलदायी हुने कुरामा जोड दिनुभएको थियो । उक्त भ्रमण वर्षलाई सफल बनाउन न्यू भिजन नेपाल, नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट, सेभ हिस्टोरिकल, विश्व हिन्दु परिषद् नेपालकोे पनि महत्वपूर्ण भूमिका रहने जनाइएको छ ।