• ६ जेठ २०८१, आइतबार

रुकुममा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु

blog

चौरजहारी नगरपालिका –१२ मा एकीकृत नमुना बस्ती निर्माण हुँदै । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, पुस १९ गते । भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ को टाकुरी टोलमा २१ वटा घर निर्माणको थालनी गरिएको हो । 

नगरप्रमुख पुष्प बादीले एक कार्यक्रमका बिच भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । चिसोको कारण भूकम्पपीडितहरूको स्वास्थ्य थप जोखिममा पर्न थालेकोले एकीकृत रूपमा नमुना बस्ती निर्माण थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार एकीकृत बस्ती निर्माणका लागि पीडित परिवार र मानव विकास तथा सामुदायिक सेवाको संयुक्त लगानी रहनेछ । दुई पक्षले एक घर निर्माणका लागि करिब पाँच÷पाँच लाख रुपियाँको लगानी गर्ने सहमति भएको बताउनुभयो ।

भूकम्पपीडित गणेश खत्रीले सिङ्गो टोलका २१ घर एकसाथ बनाउन थालेको बताउनुभयो । एक घरको लम्बाइ सात मिटर र चौडाइ ५.५ मिटर रहने गरी काम थालनी भएको छ । सबै घरमा समान प्रकृतिको बरन्डा रहने खत्रीले उल्लेख गर्नुभयो । अहिले संयुक्त रूपमा स्थानीयवासीहरुले घर निर्माणको काम गरिरहेको र एक घर निर्माणसँगै अर्को घर सुरु गर्ने सहमति भएको खत्रीले जनाउनुभयो । 

वडा नम्बर १२ का वडा अध्यक्ष टीकाराम ओलीले तीन महिनाभित्र पहिलो चरणको एकीकृत बस्ती निर्माण कार्य सक्ने गरेर काम थालनी गरेको बताउनुभयो । आफ्नो वडाका पाँच सय ९२ घरको टहरा निर्माण सकिएकोले पुनर्निर्माणको अभियान सुरु गरिएको उहाँको भनाइ छ । वडाध्यक्ष ओलीले नगरपालिकाको दुर्गम बस्तीको रूपमा रहेको टाकुराटोलमा नमुना बस्ती विकास गरेर उदाहरणीय कार्य प्रस्तुत गरिने उल्लेख गर्नुभयो । घर निर्माणमा सम्पूर्ण टोलवासीहरू एक भएर काम गरिरहेका छन् । 

चौरजहारी नगरपालिकाभित्र सात हजार दुई सय ३६ घरपरिवारका आठ हजार दुई सय ७० वटा घर क्षति भएको नगर प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो । जस मध्य चार सय ५५ वटा पूर्ण रूपमा, छ हजार पाँच सय ९१ वटा आंशिक रूपमा र एक हजार दुई सय २४ वटा सामान्य चर्केर क्षति भएका छन् । 

अस्थायी आवास निर्माणको लागि चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राहीको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ जिल्ला विपद् कोषबाट पठाइएको छ भने नगरपालिकाले पाँच हजार नौ सय ३८ लाभग्राहीको खातामा १४ करोड ८४ लाख ५० हजार रुपियाँ जम्मा गरिसकेको छ ।