• १३ साउन २०८१, आइतबार

चुल्हो आगो बाल्न गोबर गुइँठाकै विकल्प

blog

सुनसरीको दक्षिण वर्ती हरिनगर गाउँपालिका क्षेत्रमा सुकाइएका गुइँठाहरू । तस्बिर: बाबुराम

बाबुराम कार्की

वराहक्षेत्र, पुस १९ गते ।  हिउँद सुरु भएसँगै भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका र कोशी गाउँपालिकाको अधिकतर घरपरिवारका गृहिणीहरूले दैनिक गोबर जम्मा गर्नु उहाँहरूको दिनचर्या नै हो ।

 यसरी जम्मा गरेको गोबर कम्पोस्ट मल बनाउनलाई भने होइन । सङ्कलन गरेको गोबर, धानको पोगटा मिसाएर सन्ठीमा लेपेर दाउराको रूपमा खाना पकाउन प्रयोग हुने गोबर गुइँठा तयार गर्नु जिल्लाको दक्षिणवर्ती क्षेत्रका गृहिणीहरूको दैनिकी नै बनेको छ ।  

सुनसरीको दक्षिणवर्ती क्षेत्रका प्रत्येक घर आँगन र भित्ताहरूमा सन्ठीमा गोबरले लेपेका गुइँठाहरू देख्न सकिन्छ । गुइँठा नदेख्नेहरुका लागि घरैपिच्छे ठडाइएका गुइँठा र थाकहरू देख्दा अचम्म लाग्न सक्छ । तर यहाँका बूढाबूढीदेखि केटाकेटीसम्मका लागि गुइँठाको आफ्नै महत्त्व छ ।  सुनसरीको दक्षिणवर्ती गाउँहरूमा वर्षौँदेखि यही गुइँठा खान पकाउन र जाडोमा आगो ताप्न प्रयोगमा आउने गरेको छ ।


सुनसरीका ग्रामीण बस्तीहरूमा खान पकाउनका लागि परम्परागत रूपमा गोबर गुइँठाको प्रयोग हुँदै आएको छ । गुइँठा सुकाएर दाउराको विकल्पको रूपमा खाना बनाउन प्रयोग गर्दै आएका छौँ” भोक्राहा नरसिंह गाउँपालिका ८ सोनिया टोलको सकिना खातुनले भन्नुभयो । हाम्रो बुबा, हजुरबुबाको पालादेखि नै गुइँठाको दाउराबाटै खाना पकाउँदै आएका छौ ।”

गोबरको गुइँठा बनाउनकै लागि सकिना खातुन परिवारले तीन वटा गाई  पाल्दै आउनुभएको छ । सुनसरीको दक्षिणी क्षेत्रमा जङ्गल क्षेत्र भए पनि रुखहरू नहुँदा दाउराको विकल्पमा गोबर गुइँठा प्रयोग गर्नु पर्ने वध्यता छ । दाउरा नहुँदा कम्पोस्ट मलको रूपमा खेतमा हालिने गोवर मललाई गुइँठा बनाएर खाना पकाउनुपर्ने बाध्यता दक्षिण वर्ती क्षेत्रका स्थानीयहरूको दशकौँदेखिको हो ।

 इनरुवा १० जल्पापुरका ५२ वर्षीय इस्लाम मियाले भन्नुभयो “सबैले गाई भैँसी गाउँमा हटाउँदै गएका छन् । गुइँठाकै लागि मात्रै चार पाँच वटा गाई भैँसी पाल्ने गरेका छन् । हाम्रो खेतबारीमा गोबर मल त कहिले हाल्न पाउँदैनौँ । गुइँठा बनाउँदै गोबर सकिन्छ कसरी खेतमा गोबर हाल्नु ” मिया बताउनुहुन्छ ।  

इस्लाम मियाका अनुसार दक्षिणवर्ती क्षेत्रका खेतहरूमा गोबर मल हालिँदैन रासायनिक मलको भरमै खेती हुँदै आएको छ । यहाँ कसैले पनि गोबर मल नहाल्ने हुँदा प्रत्येक वर्ष रासायनिक मलको डोज बढाउँदै लगिएको छ । बिहान गोबर सङ्कलन गर्नु र दिउसो सन्ठी र बासको कुर्सीमा गोबर र धानको पोगटा, भुस मिसाएर गुइँठा बनाउँदै दिन बित्ने गरेको छ ।

आफ्ना गाईबस्तु नहुने गृहिणीहरू गाईबस्तुको चरन क्षेत्रमा ढकी बोकेर गोबर सङ्कलन गरेर गुइँठा बनाउँदै आउनुभएको छ । गुइँठा बनाउनकै लागि किसानहरूले एक कट्ठादेखि पाँच कट्ठासम्म पटुवा खेतीसमेत गर्दै आएको  भोक्राहा नरसिंह ८ का सजात मियाले बताउनुभयो ।

गुइँठा बनाउन सन्ठी चाहिने भएकाले प्रत्येक किसानले पटुवा खेती लगाउने गरेका छन् । सुख्खा याममा गुइँठा बनाएर राख्ने र वर्षायामा पानी पर्दा गुइँठा प्रयोग गर्ने गरेको जल्पापुरका इस्लाम मियाले भन्नुभयो । मियाका अनुसार गुइँठाको आगोले खाना छिटो पाक्ने र धुवाँ कम आउने गर्छ । गाउँ घरमा एलपी ग्याँसको प्रयोग कम हुने गरेको छ । ग्याँस किन्ने सबैसँग क्षमता हुँदैन ।

दाउराको रूपमा गोबरको प्रयोग भइरहेकाले किसानहरूले सिफारिस मात्राभन्दा पनि बढी रासायनिक मलको प्रयोग बढाउँदै लगेको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । सूचना अधिकृत श्रेष्ठका अनुसार तत्काल रासायनिक मलले उत्पादन बढाए पनि माटोको उर्वरा शक्तिमा ह्रास ल्याउँछ । “गोबर मलले चिस्यान र माटोको उर्वरा शक्तिलाई सन्तुलनमा राख्ने हुँदा रासायनिक मलसँगै गोबर मल पनि हाल्नुपर्छ” श्रेष्ठले भन्नुभयो ।