जनार्जन खत्री
सर्लाही, पुस १९ गते । सर्लाहीको हरिपूर्वा नगरपालिकामा छ महिनापछि कार्यपालिका बैठक बसेको छ । जनप्रतिनिधिबिचको विवाद र प्रमुख प्रशासकीय अधिकृतको अभावले यहाँ गएको असारदेखि कार्यपालिकाको बैठक बस्न सकेको थिएन ।
लामो प्रयासपछि यही पुस १२ गते उपसचिव शम्भुप्रसाद साह प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएसँगै बुधवार दिउँसो कार्यपालिकाको बैठक बसेको हो । बैठकले नगर सभा गर्नका लागि आगामी सोमबार पुनः कार्यपालिकाको बैठक बस्ने निर्णय गरेको हरिपूर्वा नगरपालिका ३ का वडाध्यक्ष प्रमोद रायले बताउनुभयो । आर्थिक वर्ष २०८०/०८१ को छ महिना बितिसक्दा पनि हरिपूर्वा नगरपालिकाले नगर सभा गर्न सकेको छैन ।
बल्ल प्रमुख प्रशासकीय अधिकृत हाजिर भएकाले नगरप्रमुख विनोद कुमार साह तेलीले नगर सभाका लागि जनप्रतिनिधिलाई सहमतिमा ल्याउने प्रयास थाल्नुभएको हो । १९ सदस्यीय नगर कार्यपालिकामा नगरप्रमुख तेली अल्पमतमा हुनुहुन्छ ।
छ महिनापछि बसेको कार्यपालिका बैठक चार घण्टा भन्दा बढी समय चल्यो । जनप्रतिनिधिबिच विवाद चल्दै आएकाले कार्यपालिका बैठक बसुन्जेल नगरपालिका परिसरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।
शान्त पूर्वक सकिएको बैठकमा बाँके–सङ्ग्रामपुर सडक खण्ड अन्तर्गत हरिपूर्वा नगर क्षेत्रभित्र पर्ने सडकको ‘साइड क्लियर’ गर्ने, प्रहरी चौकीलाई जग्गादाताले उपलब्ध गराएको जग्गा ग्रहण गर्ने, गत आर्थिक वर्ष २०७९÷०८० को हरहिसाब सार्वजनिक गर्ने लगायतका विषयमा छलफल भएको छ । यस नगरपालिकामा छ महिनासम्म बजेट पारित नहुँदा शिक्षक, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन ।
बजेट अभावमा नगरपालिका मातहतका कार्यालयहरू सञ्चालनमा समस्या भएको छ भने विकास निर्माणका सम्पूर्ण काम ठप्प रहेका छन् ।