• १४ असार २०८१, शुक्रबार

अस्पताल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

blog

खोटाङ समाचारदाता

खोटाङ, पुस १९ गते । खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा निर्माणाधीन अस्पतालमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर ५ चिसापानीमा निर्माण भइरहेको १५ शøयाको अस्पताल भवनमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग भएको पाइएको हो ।

निर्माणाधीन अस्पताल भवनका लागि जग सम्याएर पिल्लर ठड्याउने काममा ठेकेदारले बलौटे माटो प्रयोग गरिरहेको स्थानीयले आरोप लगाएका थिए । स्थानीयको आरोपपछि प्राविधिकसहितको टोलीले अनुगमन गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको पुष्टि भएको गाउँपालिकाले जनाएको छ । मङ्गलबार बसेको गाउँ कार्यपालिकाको बैठकलले पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीका ठेकेदारलाई तत्काल उक्त संरचना भत्काएर गुणस्तरीय काम गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले बताउनुभयो ।

ठेकेदारले गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको उहाँको भनाइ छ । दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने निर्माणाधीन अस्पताल भवनको हाल पिल्लर ठड्याउने काम मात्र हुँदै छ । ढिला गरी काम सुरु गरेको ठेकेदारको भवन निर्माणमा लापरबाही गरेपछि तत्काल भत्काउन निर्देशन दिएको अध्यक्ष राईले बताउनुभयो ।  

चिसापानीमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन कुल रु २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने गरी २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार वि.सं. २०७९ असार २८ गतेभित्र निर्माणको काम सम्पन्न गरिसक्ने उल्लेख भए पनि अस्पताल भवनको हाल पिल्लर ठड्याउने काम मात्र सुरु भएको हो ।

स्थानीयसँग पुस ११ गते पिसिसी ढलान भत्काउने मौखिक सहमति गरे पनि ठेकेदार कम्पनीले उक्त सहमति पालना नगरेको स्थानीय सुमन राईले बताउनुभयो । निर्माणाधीन अस्पतालको जगमा पिसिसी ढलानका लागि ठेकेदार कम्पनी सिद्धगढी निर्माण कम्पनीले बालुवा मिसाएर प्रयोग गरेको पाइएको गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर सुरेशकुमार मेहताले बताउनुभयो ।