• १३ असार २०८१, बिहिबार

तनहुँमा वैदेशिक रोजगारीमा गएका १८ जनाले ज्यान गुमाए

blog

अमरराज नहर्की

तनहुँ, पुस १९ गते । वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट घर चलाउन सजिलो भए पनि तनहुँमा ज्यान गुमाएर आँसु बगाउने परिवार पनि थुप्रै छन् । एक वर्षको अवधिमा तनहुँबाट वैदेशिक रोजगारीमा गएका १८ जना पुरुषले ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।

  विदेशमा काम गर्दा सो सङ्ख्यामा ज्यान गुमेको केन्द्रकी तनहुँकी संयोजक लुना रानाले बताउनुभयो ।  यस वर्षको ६ महिनाको अवधिमा मात्रै ८ जनाले ज्यान गुमाएको उहाँले जानकारी दिनुभयो । रानाका अनुसार पाँच वर्षको अवधिमा जिल्लामा ७२ जनाले ज्यान गुमाएका छन् । सन् २०१९-२०मा एक जना, २०२०-२१ मा १८, २०२१-२२मा २४, २०२२-२३ मा १८,  ६ महिनाको अवधिमा ८ जना र अन्य जिल्ला भई तनहुँमा अस्थायी बसोबास गर्ने ३ गरी पाँच वर्षमा ७२ जनाको मृत्यु भएको छ । मृत्यु भएका ति परिवारले नौ करोड १२ लाख ९२ हजार दुई सय ६१ रुपियाँ क्षतिपूर्ति पाएका छन् । सन् २०१९-२०मा दुई लाख १० हजार, २०२०-२१ मा १ करोड ८६ लाख ५० हजार, २०२१-२२मा तीन करोड ६४ लाख आठ हजार, २०२२-२३मा दुई करोड ९३ लाख ९४ हजार दुई सय ६१, ६ महिनाको अवधिमा ४२ लाख र अन्य जिल्ला घर तनहुँमा अस्थायी बसोबास गर्ने तीन जनाले ६३ लाख रुपियाँ क्षतिपूर्ति पाएका छन् ।

 तनावमा र अत्यधिक काम गर्ने लगायतले गर्दा उनीहरूको ज्यान गएको पाइएको केन्द्रले जनाएको छ । ठुलो रकम खर्चेर विदेश गएकोले धेरै आम्दानी गर्ने दबाबले गर्दा लगातार काम गर्दा पनि कतिपय घटना हुने केन्द्रकी परामर्शदाता गोमा तिवारी बताउनुहुन्छ । मुख्य रूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना लगायतले गर्दा नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको केन्द्रले जनाएको छ ।  केन्द्रका अनुसार  कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।