• १० मंसिर २०८१, सोमबार

तेह्रकुने सिमसारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

blog

इलामको माई नगरपालिकास्थित पर्यटकीय तेह्रकुने सिमसार । तस्बिर: कोकिला

कोकिला ढकाल

इलाम, पुस १९ गते । इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको छ । माई नगरपालिका १ र ९ को बिचमा पर्ने तीनकुने क्षेत्रमा पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षणको काम समेत भइरहेको छ । 

चार सय मिटर क्षेत्रफलमा फैलिएको पोखरी निर्माण पछि यस क्षेत्रको पर्यटकीय महत्त्व समेत थपेको माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बू बताउनुहुन्छ । ‘स्थानीयको मेहनत, हौसलालाई नगरपालिकाले मर्न दिँदैन’लिम्बूले भन्नुभयो ‘यो क्षेत्रको गुरुयोजना निर्माण गरी अर्को वर्ष भित्रै कार्यान्वयनमा  जानेछौ ।’ 

चुरे क्षेत्रमा संरक्षण गरिएको यो पोखरी हेर्नेकै लागि पनि महत्त्वपूर्ण छ । सिमसार क्षेत्रभित्र नागबेलीजस्तो देखिने १३ कुना भएको पोखरी यो क्षेत्रकै विशेषता रहेको स्थानीय करसिंह राईले बताउनुभयो । तेह्रकुने सिमसार संरक्षणका लागि स्थानीय विगतदेखि नै लागिपरेका छन् । यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सङ्घीय सरकारको सहयोगमा विभिन्न काम भएको बताइएको छ । सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि ड्याम, पोखरी वरिपरि पदमार्ग, पाँच काठे पुल, सिमसार बिचमा गोलघर, शौचालय निर्माण र वृक्षारोपणलगायतका काम गरिएको राईले बताउनुभयो । राईका अनुसार सिमसार क्षेत्रको संरक्षणका लागि पटक पटक गरी ७२ लाख रुपैयाँ खर्च भएको छ । यो वर्ष प्रदेश सरकारबाट २५ लाख रुपैयाँ विनियोजन भएको जनाइएको छ ।

विभिन्न चराहरूको वासस्थान, जैविक र पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण यो क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हिजो देखि महोत्सव समेत सुरु भएको छ । आगामी पुस २० सम्म चल्ने महोत्सवमा  अवधिभर भने पुरुष र महिलाका फरक–फरक फुटबल प्रतियोगिता, बोटिङ, फिसिङ, स्थानीय वेशभूषा तथा कला–संस्कृति प्रदर्शन, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम रहने महोत्सव आयोजक समितिका संयोजक समेत रहनुभएका राईले बताउनुभयो । महोत्सवमा करिब २० हजार पर्यटकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । तेह्रकुने सिमसार क्षेत्रमा २०७८ सालयता प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको जनाइएको छ । 

झापाको बिर्तामोडबाट ३६ किलोमिटर र इलाम बजारबाट करिब ३४ किलोमिटर बाटो पार गरेपछि तेह्रकुने सिमसार क्षेत्र पुग्न सकिन्छ ।