• १३ मंसिर २०८१, बिहिबार

आर्थिक मन्दीका कारण सिमेन्ट उद्योग बन्द

blog

हिले समाचारदाता 

हिले, पुस १९ गते  । आर्थिक सङ्कटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठुलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो । दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो । 

उत्पादन ठप्प भएपछि उद्योगका १५० जनाभन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् । आर्थिक सङ्कटकै कारण उद्योगले दैनिक लाखौँ रुपियाँ घाटासमेत बेहोर्नु परेको छ । उद्योग गलत ठाउँमा खुलेका कारण सुरुदेखि नै तीन टन उत्पादन क्षमता रहेको उद्योगले दैनिक १५० टन मात्रै उत्पादन गर्दै आएको कर्मचारी सरोज सेढाईले जानकारी दिनुभयो । 

कोभिडले थला पारेपछि सुरु भएको आर्थिक मन्दीका कारण भारतको विभिन्न क्षेत्रबाट आउने कोइला, बक्साइट, लेटराइट, जिप्समलगायतको कच्चा पदार्थको मूल्य अत्यधिक बढ्नु र सिमेन्ट बिक्री ठप्प हुँदा उद्योग बन्द भएको हो । उद्योग सञ्चालन हुँदा कोशी प्रदेशका पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर तथा सङ्खुवासभाको सिमेन्टको ८० प्रतिशत माग धान्दै आएको थियो । यता उद्योगले जरिबानाबाहेक १४ करोड १८ लाख ३३ हजार ९१० रुपियाँ विद्युत् महसुल तिर्न बाँकी रहेपछि विद्युत् प्राधिकरण धनकुटाले लाइन काटेको छ । 

धनकुटामा निगाले सिमेन्टसहित साना र मझौला उद्योग आर्थिक सङ्कटका कारण धमाधम बन्द भइरहेको र सञ्चालनका लागि तीनै तहको सरकारले पहल गर्नुपर्ने धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजयसन्तोषी राईले बताउनुभयो ।