• १२ असोज २०८१, शनिबार

सल्लाहकारद्वय अधिकारी र चौधरीलाई संस्थानमा स्वागत

blog

गोरखापत्र संस्थानका सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीलाई संस्थानमा स्वागत गर्नुहुँदै कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरी । तस्बिर : सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १८ गते । गोरखापत्र संस्थानका सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीलाई आज संस्थान व्यवस्थापनले कार्यालयमा स्वागत गरेको छ । संस्थानका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकसहित संस्थानका कर्मचारीले उहाँहरूलाई स्वागत गर्नुभयो । 

नेपाल सरकारले दुवैलाई पुस ५ गते सल्लाहकारमा नियुक्त गरेको थियो । अधिकारीलाई व्यवस्थापन, आर्थिक एवम् प्रिन्टिङ सल्लाहकार र चौधरीलाई कानुनी सल्लाहकारको रूपमा जिम्मेवारी तोकिएको छ । सूर्यगढी गाउँपालिका–२, नुवाकोट स्थायी निवासी अधिकारी लामो समयदेखि पत्रकारिता पेसामा आबद्ध रहँदै आउनुभएको छ । उहाँले पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ । 


सोहीअनुसार घोराही उपमहानगरपालिका–१७, दाङ स्थायी निवासी चौधरी लामो समयदेखि कानुन व्यवसायमा सक्रिय रहँदैआउनुभएको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर चौधरी कानुनमा एलएलबी गर्नुभएको छ । 

सो अवसरमा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले स्वागतका क्रममा नेपालको जेठो अखबार गोरखापत्र नेपाल र नेपालीको गौरव भएकाले सोहीअनुरूप गौरवपूर्ण काम गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । अहिले संयोगले सबै टिम युवाको जुरेकाले काममा पनि युवा देखिन आवश्यक रहेको बताउनुभयो । 


टिम स्पिरिटअनुसार काम गर्दा संस्थानलाई आत्मनिर्भर संस्थाको रूपमा विकास गर्न समस्या नभएको उहाँले बताउनुभयो । राजनीतिक नियुक्ति पाएर आउनेहरू हामी सबै माध्यममात्र भएकाले यहाँका स्थायी कर्मचारी संस्थानका मालिक भएको उहाँले चर्चा गर्नुभयो । कर्मचारीको व्यावसायिक क्षमता विकास गर्नमा आफूहरूले सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले सल्लाहकारद्वय अधिकारी र चौधरीलाई खादा लगाएर स्वागत गर्नुभयो । 

महाप्रबन्धक लालबहादुर ऐरीले सल्लाहकारद्वयको आगमनले काम गर्नमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संस्थानको विकासका लागि सबैको सामूहिक प्रयासको खाँचो रहेकाले सबै मिलेर काम गर्ने वातावरण बनाउन आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । सो अवसरमा उहाँले सल्लाहकारद्वयलाई खादा लगाएर संस्थानमा स्वागत गर्नुभयो । 


सल्लाहकार रामकृष्ण अधिकारीले संस्थानको विकासका लागि संस्थान टिमसँग हातमा हात मिलाएर जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पुरानो संस्थामा काम गर्ने अवसरले आफू खुसी भएको चर्चा गर्नुहुँदै उहाँले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताउनुभयो । 

सल्लाहकार सुशीला चौधरीले संस्थान बनाउन सबैले जिम्मेवारीअनुसार काम गर्न आवश्यक रहेको भन्नुहुँदै आफूले जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थान बुझ्न अझै बाँकी रहेकाले संस्थानको आवश्यकताअनुसार सबैसँग मिलेर काम गर्ने उहाँले बताउनुभयो । 


सल्लाहकारद्वय अधिकारी र चौधरीले गोरखापत्र सञ्चालनकर्ता जयपृथ्वीबहादुर सिंहको प्राङ्गणमा रहेको मूर्तिमा माल्यार्पण गर्नुभएको थियो । स्वागतपछि उहाँहरुले संस्थानका सम्पादकीय विभाग, अनलाइन विभागसहित विभागको अवलोकन गर्नुभएको थियो । सो अवसरमा सम्पादक सल्लाहकार उपेश महर्जन, गोरखापत्र दैनिकको प्रधान सम्पादक शिवकुमार भट्टराई, सञ्चालक समितिका सदस्यहरु, संस्थानका विभागीय प्रमुखलगायतको सहभागिता थियो ।