• १४ असार २०८१, शुक्रबार

आगलागीपीडितलाई युएईको सहयोग

blog

इमानसिं राना

रामपुर (पाल्पा), पुस १८ गते । पाल्पाली समाज युएईले आगलागी पीडितलाई एक लाख रुपियाँ सहयोग प्रदान गरेको छ । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका पाल्पालीको साझा संस्था पाल्पाली समाजले निस्दी गाउँपालिका –३ क्याङ्गरुङ्ग गिन्चिसका श्यामबहादुर पल्लीको परिवारलाई रकम सहयोग गरेको हो ।  

प्रवासमा रहे पनि स्वदेशको सामाजिक कार्यमा सक्रिय संस्थाले विपद्को समयमा निरन्तर सहयोग गर्दैआएको छ । गत पुस ७ गते भएको आगलागीबाट घरसँगै नौ महिनाको नातिनी गुमाएका पल्लीको परिवारलाई युएई मा कार्यरत नेपालीमार्फत सहयोग सङ्कलन गरी रकम उपलब्ध गराएको हो । 

पाल्पाली समाज युएई ले पठाएको ९० हजार र सहयोग हस्तान्तरणका लागि गएको टोलीले सङ्कलन गरेको १० हजार गरी एक लाख रुपियाँ पल्लीको परिवारलाई सहयोग गरेको हो । 

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा र पाल्पाली समाज युएईका उपाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले रामपुर नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाण, कांग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराई, निस्दी –३ का वडा सदस्य यामप्रसाद झेडी मगर लगायतको उपस्थितिमा श्यामबहादुर पल्लीको परिवारलाई रकम हस्तान्तरण गरेको हो । 

नगर प्रमुख थापाले वैदेशिक रोजगारीको क्रममा देश बाहिर रहेर पनि आफ्नो जन्मभूमिमा परेको विपद्मा सहयोग गरेर युवाहरूले महत्त्वपूर्ण सहयोग प्रदान गरेको बताउनुभयो । दुःखको बेलामा आर्थिक र भौतिक सहयोगले पीडित परिवारको पीडामा मल्हम लगाउने कार्य गरेको उल्लेख गर्नुभयो । 

पाल्पाली समाज युएई का उपाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले दुःखको समयमा सहयोग गर्नु सबैको दायित्व हो भन्ने महसुस गरेर युएई मा रहेका युवाहरूबाट सहयोग जुटाएर रकम प्रदान गरिएको जानकारी दिनुभयो ।

घर जलेर नष्ट भएपछि पल्लीको परिवार अहिले त्रिपालमा बस्दैआएका छन् । विभिन्न सङ्घ, संस्था, समूहले पल्ली परिवारलाई राहत प्रदान गर्दैआएको छ ।