भावना जोशी
अत्तरिया, पुस १८ गते । कैलालीको गोदावरी नगरपालिका–४ को बिकट बस्ती बेलपानी, फुलबस्तिमा ११ केभी विद्युत लाइन विस्तार भएको छ । धनगढी वितरण केन्द्रका प्रमुख मिथलेशकुमार गुहिबर र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले विधुतको स्विच अन गरेर विधुत लाइन विस्तार गर्नुभएको हो ।
विद्युत पहुँचबाट टाढा रहेको वडाको पहाडी क्षेत्र विद्युत विस्तार हुन थालेपछि स्थानीय खुसी भएका छन् । फुलबस्ति, पटयानी, दामोदरे, तल्लो गैरी, मल्लो गैरीमा बत्ती बल्न सुरु भएको छ । गोदावरी नगरपालिकाका मेयर भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्तीमा आफ्नो डेढ वर्षको कार्यकालमा विधुत विस्तार गर्न सफल भएको बताउनुभयो ।
‘यो ठाउँ अँध्यारोबाट उज्यालोमा आएको छ । हामी जनप्रतिनिधि भएर आएको डेढ वर्षमात्र भएको छ । छोटो समयमै विधुत ल्याउन सफल भएका छौ’ मेयर भट्टले भन्नुभयो । ‘हामी जनताको पक्षमा काम गर्न सफल भएका छौँ । हामीले सङ्घ, प्रदेश सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ’ उहाँले थप्नुभयो ।
फुलबस्ति, पटयानी, तल्लोगैरी, मल्लोगैरीका २ सय परिवारको घरमा विद्युत पुगेकाले अब छिटै बेलपानीका परिवार बसोबास गर्ने फूलबस्तीमा विद्युत विस्तार गरिने उहाँको भनाइ छ । उहाँले नगरका सबै ठाउँमा विद्युत विस्तार गर्न अझै १५–२० विद्युत पोल आवश्यक पर्ने बताउनुभयो ।
गोदावरी नगरपालिका सुगम पालिका भएर पनि यस क्षेत्रका जनताले सहज रूपमा विद्युत सेवा उपभोग गर्न पाएका थिएनन् । ‘११ केभी विद्युत लाइन बिस्तार भएपछि अव विकासले गति लिनेछ’ वडा अध्यक्ष हेम प्रकाश मल्लले भन्नुभयो ।