• २० वैशाख २०८१, बिहिबार

भूताहा गुडिया

blog

अलौकिक क्षेत्र । भूत–प्रेत र पिशाचको घर । यस क्षेत्रमा केही यस्ता पात्र र कथा अस्तित्वमा छन्, जो सार हो सम्पूर्ण भयको र त्यसलाई पहिचान दिइएको छ– एनाबेल । 

उनको नाम र प्रतिरूप प्रेत साधनासम्बन्धी चलचित्र शृङ्खलाबाट प्रसिद्ध भयो । उनी अँध्यारो, अलौकिक घटनासँग सम्बन्धि कथाको पर्याय नै बनिसकेकी छन् । एनाबेल अचेल एक किसिमले घरेलु नाम बनेको छ । वास्तवमा उनी डरलाग्दो र बेचैन बनाइदिने एकोहोरो हेराइले प्रसिद्ध छिन् । 

हलिउडको क्यामराको चकमन्न उज्यालोमा एनाबेलले वास्तविकता र कल्पनाबीचको रेखा नै धुमिल पारिदिन्छिन् । असली एनाबेल गुडियाको कथा नितान्त विचित्रको तथा चलचित्रमा तपाईंले देखेको भन्दा अत्यन्त डरलाग्दो छ ।

डोना र एन्जीको डर

भूताहा एनाबेलको असली कथा सन् १९७० को दशकमा अमेरिकामा सुरु भएको थियो । सन् १९७० मा अमेरिकी एक आमाले आफ्नी छोरी डोनाका लागि जन्मदिनको उपहारमा पुरानो झैँ लाग्ने एनाबेल गुडिया किनिन् । उनीहरूलाई के थाहा निर्दोष जस्तै लाग्ने गुडिया चाँडै नै सम्मोहन र भयको स्रोत बन्ने छ । डोना नर्सिङकी विद्यार्थी थिइन् र कलेजमा एन्जीका साथमा कलेजमा बस्दथिन् । उनले केही नसोचेर सो गुडिया लिइन् ।

त्यसपछि विचित्रका घटना देखिन समय लागेन । एनाबेल डोनाको अपार्टमेन्टमा रहस्यमय तरिकाले यताउता चल्न थालिन् । डोनाको कोठामा चर्मपत्र थिएन । तैपनि एनाबेलले एउटा चर्मपत्रमा विशेष र विचित्रको सन्देश लेखेर छाडिन् ।

केही सन्देश डोनाको साथी लुप्रति लक्षित थिए । लुले एनाबेललाई घृणा गर्थे । उनलाई यसमा केही गम्भीर समस्या भएको आभास भएको थियो ।

घटनाक्रमले हैरान र चिन्तित डोनाले सहयोगको एक माध्यम खोजिन् । उनीहरूले भयभीत पार्ने खुलासा गरे । सहयोग गरेको माध्यमका अनुसार एनाबेल हिगिन्स बालिका थिइन् र सात वर्षको उमेरमा उनको दुःखद निधन भएको थियो । के विश्वास गरियो भने उनको साथमा यही गुडिया थियो ।

डोना र एन्जीलाई असहज भयो । उनीहरू रेखदेख गर्ने र मायाभाव दर्शाउने नर्सिङ विधाका विद्यार्थी थिए । त्यसर्थ उनीहरूले एनाबेललाई आफैँसँग राख्ने निर्णय लिए तर स्थितिले भयानक रूप लिन धेरै समय लागेन ।

भनिन्छ एक दिन एनाबेलले डोनाको साथी लुमाथि आक्रमण गर्‍यो । यी उनै साथी थिए जसका बारेमा एनाबेलले रहस्यमय लेखोट तयार पारेकी थिइन् । एनाबेलले लुको घाँटी नै च्याप्ने कोसिस गरेकी थिइन् । एनाबेलले लुको छातीमा नङ्ग्राले चिथोरेको जस्तो निशान नै छाडिन् ।

अब उनीहरू आफ्नो सुरक्षालाई लिएर चिन्तित भए । अनौठा घटना बुझ्न उनीहरू असमर्थ थिए । यसैले डोना र लु एक पुरोहितकहाँ गए । ती पुरोहितले सहयोगका लागि अलौकिक घटनाको अनुसन्धान गर्ने एड र लारेन वारेनसँग सम्पर्क गरे ।

दुष्टात्माको अधीन

डोना र लुले एड र वारेनको सहयोग स्वीकार गरे । उनीहरू के कुरामा स्पष्ट थिए भने यस्तो अनौठो र डरलाग्दो परिस्थितिका बारेमा धेरै अनुभवी र जानकार व्यक्ति आफूहरूलाई आवश्यक छ ।

वारेनलाई चाँडै नै के महसुस भयो भने एनाबेल गुडियामा भूतको छाया मात्र छैन । उनीहरूले निष्कर्ष निकाले बरु गुडियामा निकै नै भयावह अशुभ कुरा छ, एउटा अमानवीय र दुष्ट आत्माको बास ।

उनीहरूको छानबिन अनुसार गुडियाले एक प्रेत वाहकका रूपमा काम गरिरहेको छ । गुडियामा भूतप्रेतको छाया परेको उनीहरूले बताए । त्यसपछि वारेन दम्पतीले झारफुक गरेर गुडियाबाट प्रेतात्मा लखेट्ने निर्णय गरे ।

एनाबेललाई प्रेतको कब्जाबाट मुक्त गराउने उनीहरूको कोसिस सुरुमा असफल भयो । अठोटमा अडिग वारेन दम्पतीले गुडियालाई आफ्नो कब्जामा लिए र उनीहरूलाई के महसुस भयो भने द्घ दोषपूर्ण असर तुरुन्त निस्तेज पार्नु जरुरी छ ।

उनीहरूले एनाबेललाई एउटा झोलामा हाले र सावधानीपूर्वक घरतिर लागे । अनिष्ट शक्तिहरूको असरको जोखिम न्यून गर्न उनीहरूले राजमार्गबाट यात्रासमेत गरेनन् । उनीहरूले पछाडिको सडकबाट यात्रा गरे र यात्राका क्रममा अनेकौँ डरलाग्दा घटनाको साक्षी उनीहरूले बन्नुपर्‍यो । कारको इन्जिनमा खराबी आयो, ‘पावर स्टेरिङ’ ले काम गर्न बन्द गर्‍यो र ब्रेकसमेत राम्रोसँग लाग्न छाड्यो ।

प्रेतको असर पर्ने भयले एडले गुडियामा पवित्र जल छर्किए । यसो गर्दा उनीहरूलाई परिआएको समस्या केहीबेर मत्थर पनि भयो । यी डरलाग्दा घटनाक्रमले एनाबेलमा प्रेतात्माको शक्तिशाली प्रभाव रेखाङ्कित भयो ।


वारेनको रहस्यमय सङ्ग्रहालयमा एनाबेल

गुडिया ग्रहण गरेपछि वारेन दम्पतीले आफ्नो घरमा एनाबेलको उपस्थितिमा नियन्त्रण पाउन कठिन हुने ठाने । ताला लगाउँदा पनि ढोका खोल्न सक्ने र नोक्सान पुर्‍याउन सक्ने गुडियाको क्षमता उनीहरूले महसुस गरेका थिए ।

यसै कारण वारेन दम्पतीले एनाबेलको असर रोक्न विशेष खालको एउटा बाकस बनाए । अब एनाबेललाई नयाँ घर प्राप्त भयो । त्यसपछि कनेक्टिकटको मोनरोमा वारेनको ‘अकल्ट म्युजियम’ मा त्यसलाई प्रदर्शनीका लागि राखियो ।  

गुडियाको मजाक उडाएमा त्यसको परिणाम भोग्नुपर्ने सन्देश सङ्ग्रहालय भ्रमणमा आउनेलाई चेतावनी दिइएको थियो । एनाबेलको कदर नगर्ने कैयौँ व्यक्तिले गम्भीर परिणाम बेहोर्नु परेको घटनाक्रमले देखाउँछ । तीमध्ये कतिपय त सङ्ग्रहालयबाट फर्केलगत्तै ज्यान जोखिममा पर्ने गरी दुर्घटनामा परेका थिए ।

एनाबेल गुडियाको छवि नै दुर्भाग्यको एक प्रतीक बन्न पुगेको थियो । यसले संशय व्यक्त गर्नेहरूको मनमा समेत डर उत्पन्न गरिदियो । सङ्ग्रहालयमा एक सुरक्षित बाकसमा बन्द गरिएको भए पनि एनाबेल 

द्घदोषपूर्ण शक्ति कायम रह्यो । बन्द गरिएको बाकसमा हुँदासमेत गुडियाले अप्रत्याशित छवि देखाउन छाडेन । यो कहिलेकाहीँ वारेनको घरका अलग अलग कोठामा प्रकट हुन्थ्यो । यसलाई रोक्न सबै उपाय काम नलाग्ने देखिए ।

गुडियामा पुनर्जीवनको अवस्था देखेर हार मानी वारेन दम्पतीले एनाबेलबाट गुडियालाई मुक्त गराउन एक क्याथोलिक पुरोहितलाई गुहारे तर उनीहरूले आफ्नो अगाडि आउने खतरालाई कम आँके । दुर्भाग्यले पुरोहितलाई पछ्यायो र पुरोहितको गाडीको ‘ब्रेक फेल’ भयो । जसका कारण भयङ्कर कार दुर्घटना भयो तर उनी बाँचे र गुडियामा प्रेत शक्तिको निर्दयी असरको सम्झना गरायो । आज पनि एनाबेललाई वारेनको ‘अकल्ट म्युजियम’ मै राखिएको छ । केही वर्षदेखि यसलाई बन्द गरिएको छ ।

विवाद र आशङ्का

वारेन दम्पतीले आफ्नो ‘अकल्ट म्युजियम’ मा राखेको एनाबेलको वास्तविक गुडियामा लामो समयदेखि सन्देह र विवाद चलिरहेको छ ।

कैयौँ आलोचक एनाबेलमा कुनै पनि खालको अलौकिक रहस्य नभएको दाबी गर्न नहुने र त्यसलाई सामान्य नमान्न बताउँछन् तर प्रेतात्मा पसेको गुडियालाई आधार मानेर बनाइएका ‘चाइल्ड्स प्ले’ र ‘कन्ज्यिुरिङ’ जस्ता चलचित्रले चर्चामा आएको प्रेतात्मा पसेको गुडियालाई समाजमा स्थापित गराउने काम अग्रज र कथाहरूले गरेको मान्यता राख्छन् केही मानिस । उनीहरूले एनाबेलको वास्तविक कथा रचित विषयवस्तु भएको दाबी गरेका छन् ।

उनीहरूको तर्क छ दैनिकीमा देखा पर्ने वस्तुमा अलौकिक अमङ्गल खोज्दा आधुनिक कालका धामीझाँक्रीले कुनै पनि औसत र विचित्रका वस्तुमाद्घदोष देख्छन् ।

विज्ञानका लेखक र विद्वान्ले लामो समयदेखि वारेनको ‘अकल्ट म्युजियम’ को आलोचना गरिरहेका छन् । प्रदर्शन गरिएको वस्तुप्रति कैयौँ मिथक सकभर स्वतः सिर्जना भएको हुुन सक्ने उनीहरूको दाबी छ । उनीहरूले वारेन दम्पती भरपर्दो र विश्वसनीय स्रोत होइनन् भनेका छन् । जे जस्ता विवाद भए पनि एनाबेलको कथाले मोहित गरेकै छ । 

–युवामञ्च