• २९ वैशाख २०८१, शनिबार

‘मन्त्रीपरिषद् पुनर्गठनको तयारी’

blog

काठमाडौँ, पुस १८ गते  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यशैली परिवर्तन गरेर नतिजामुखी काम गर्न मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्रीले त्यसको सङ्केत सरकारको कार्यकालको एक वर्ष पुग्दा नै दिइसक्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले मङ्गलबार मन्त्रीहरू हेरफेर गरेर भए पनि सरकारको कामको गतिलाई अझ तीव्रता दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा नपुगेको जानकारी दिनुभयो । 

मन्त्रीहरू हेरफेरका लागि सत्ता साझेदार दलहरूको पनि सहमति चाहिने र राष्ट्रिय सभा सदस्यको निर्वाचन पनि आउन लागेकाले तत्काल परिवर्तनको सम्भावना भने कमै रहेको छ ।

नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको देशव्यापी अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरू फेरबदल गरेर थप प्रभावकारी काम गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीपरिषद् पुनर्गठन गरेर भए पनि प्रधानमन्त्रीले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी काम गर्न चाहनुभएको छ । यस विषयमा गठबन्धनमा र पार्टीमा छलफल भएको छ । निष्कर्ष आइसकेको छैन ।”

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटमा गठबन्धन दलहरूबिच छलफल भए पनि निष्कर्ष आइनसकेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय सभाका गठबन्धनका लागि सिट बाँडफाँट र उम्मेदवार तय गर्न उच्चस्तरीय वार्ता जारी छ ।

माओवादी केन्द्रले आफ्नो भागमा परेका सिटका लागि पार्टीभित्र अवसर नपाएका र घाइते, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने गरी छलफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाटै सहभागी हुन्छौँ । माओवादीले अहिलेसम्म अवसर नपाएका, जनयुद्धका घाइते तथा अपाङ्गता भएका र सहिद परिवारलाई अवसर दिनु पर्छ भनेर छलफल भएको छ ।”   

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको प्रवक्ता सापकोटाले बताउनुभयो । चारमहिने विशेष रूपान्तरण अभियानले जनता र पार्टीमा उत्साह ल्याएको बताउनुभयो । उहाँका अनुसार अभियानमा सङ्गठनहरू गठन र पुनर्गठन भएका छन् र पार्टी तथा मोर्चाका अन्तरविरोध हल भएका छन् । जनतासँग सम्बन्ध विस्तार भएको छ । माओवादीप्रति जनतामा आशा र भरोसा जगाएको छ । 

उहाँले भन्नुभयो, “पार्टीमा नयाँ उत्साह पैदा भएको छ । जनतामा भरोसा जागेको छ । पार्टीबाट पलायन हुने क्रम रोकिएको छ । अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । सुशासन कायम गर्न र भ्रष्टाचारविरुद्धका अभियान निरन्तर गर्न जनताबाट सुझाव पनि आएको छ ।” 

अर्को प्रसङ्गमा प्रवक्ता सापकोटाले सरकारको कामले जनस्तरमा उत्साह बढाएको दाबी गर्नुभयो । आर्थिक विकास नै प्रमुख रहेकाले आर्थिक क्षेत्रमा नयाँ ढङ्गले जाने तयारीमा सरकार रहेको उहाँले जानकारी दिनुभयो । 

सरकारको एक वर्ष सामाजिक न्यायसहितको समृद्धि दिन प्रतिबद्ध रहेको प्रवक्ता सापकोटाले बताउनुभयो । कृषि अनुदान वास्तविक किसानलाई नगएको, अनेक बाहनामा जनतालाई भड्काउने गतिविधिहरू भइरहेको, युवामा आक्रोश र असन्तुष्टि बढिरहेकाले बालकुमारी घटनाको गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने सापकोटाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बालकुमारी घटना स्वाभाविक छैन ।” गत शुक्रबार ललितपुरको बालकुमारीमा (इपिएस) परीक्षा सहभागिताका विषयमा आन्दोलन हुँदा दुई युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।