• ११ मंसिर २०८१, मङ्गलबार

युवा संघ उपमहासचिव गुरुङ हिरासतमा

blog

जिल्ला अदालत कास्कीबाट जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लैजानुअघि अदालत परिसरमा गुरुङ (बिचमा सेतो ह्याटमा)।

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १७ गते।  पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी आरोपमा फरार शिवबहादुर गुरुङ (महेन्द्र भोटे) मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थिति हुनुभयो। अदालतमा भएको थुनछेक बहस नसकिएपछि उहाँलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ। 

राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय उपमहासचिवसमेत रहनुभएका गुरुङ सूर्यदर्शन सहकारी सञ्चालक समितिका पूर्व सदस्य हुनुहुन्थ्यो। उहाँले सहकारीको नौ करोडभन्दा बढी हिनामिना गरेको पोखरा महानगरले गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

 गुरुङ सूर्यदर्शनकै आइटी प्रमुख भविश्वर अर्यालसहित मङ्गलबार दिउँसो कास्की जिल्ला अदालतमा उपस्थित हुनुभएको थियो। उहाँ स्थानीय निर्वाचनमा पालिका अध्यक्षका प्रत्यासीसमेत हुनुहुन्थ्यो। कास्कीको मादी गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका उहाँ नेपाली काङ्ग्रेसका उम्मेदवार देवीजङ्ग गुरुङसँग पराजित हुनुभएको थियो। 

सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ। सहकारी ऐन, २०७४ तथा मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुरमा सहकारी ठगीमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ।

जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो। यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि २१ असोजमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। पन्ध्र प्रतिवादी अझै फरार छन्। सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जीबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्ने प्रक्रियाअघि बढाएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो।

रामेछापका वडाध्यक्ष पोखराको सहकारीका उपाध्यक्ष

सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी अहिले पुर्पक्षका लागि कास्की कारागारमा हुनुहुन्छ। ३८ वर्षीय दर्लामीलाई प्रहरीले बिहीबार काठमाडौंबाट प्रक्राउ गरेको थियो। रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ७ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका दर्लामीलाई कास्की प्रहरीको अनुरोधमा काठमाडौँ प्रहरीले पक्राउ गरेको थियो। 

नेकपा (माओवादी केन्द्र) लिखु तामाकोशी गाउँपालिका अध्यक्षसमेत रहनुभएका उहाँलाई सोमबार कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। पक्राउ पर्नु केही दिनअघि नै दर्लामीले वडा सदस्य कल्पना पाण्डेलाई कार्यवाहक दिएर काठमाडौं गएको पालिका अध्यक्ष केशव महतले गोरखापत्रलाई जानकारी दिनुभयो। पोखराबाट करिब चार सय किलोमिटर पूर्वमा पर्ने रामेछापका स्थायी बासिन्दा दर्लामी पोखराको सहकारीको उपाध्यक्ष हुनु अनौठो र अस्वभाविक देखिन्छ।