धर्बेन्द्र झा
धनुषा, पुस १७ गते। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न तवरले सङ्घीयतालाई बदनाम गर्ने प्रयास भइरहेको बताउनुभएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार भएको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
मुख्यमन्त्री यादवले मधेश प्रदेश सङ्घीयताको जननी भएकोले सङ्घीयतालाई बदनाम हुने किसिमले कुनै पनि क्रियाकलाप हुन नदिनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले सङ्घीयता आएपछि जनताको धेरै अपेक्षा रहेको भन्दै जनतालाई अनुभूति गराउने किसिमले कार्य गर्न आफूहरू अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘सङ्घीयता महँगो भयो भन्ने कुरा गलत हो। अहिले जति अनियमितता छ, त्योभन्दा बढी बदनाम गर्ने प्रयास गरिएको छ।’’
उहाँले आगामी लेखा परीक्षण हुँदा प्रदेश सरकार मातहतको कार्यालयहरूमा बेरुजु शून्य बनाउने आफूहरूको सोच भएको जानकारी गराउनु भयो।
कार्यक्रममा कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले सातै प्रदेश र देशको बेरुजुको तथ्य पेस गर्दै समग्र देशको वित्तीय अवस्थाबारे जानकारी गराउँदै शासकीय प्रबन्ध राम्रो नरहेको बताउनुभयो।
अहिलेको उत्पादनले वर्ष भरी धान्न सम्भव छैन। सार्वजनिक प्रशासनमा सुशासन छैन। भएकै संसाधनको राम्रो सदुपयोग हुनसकेको छैन। उहाँले २०७८/०७९ मा सात प्रदेशका १२१८ कार्यालयमा लेखा परीक्षण हुँदा सात अर्ब ५० लाख बेरुजु भएको जानकारी गराउनुभयो।