• २० वैशाख २०८१, बिहिबार

गल्याङमा आलु महोत्सव हुने

blog

गल्याङ नगरपालिका–११ जिमुहामा आलु खेती ।

राधाकृष्ण डुम्रे

वालिङ, पुस १७ गते । आलुको प्रवर्द्धन र बजारीकरण गर्न गल्याङमा आलु महोत्सव हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सले दोस्रो पटक आलु तथा कृषि महोत्सव २०८० गर्न लागेको हो । 

महोत्सव गल्याङ नगरपालिका ११, जिमुहामा रहेको सित भण्डार स्थलसँगै गरिने गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष अर्जुन रानाभाटले जानकारी दिनुभयो । उत्पादन बढाउन र भएको उत्पादनलाई सहज रूपमा बजारीकरण गर्नका लागि महोत्सव गर्न लागिएको अध्यक्ष रानाभाटको भनाइ छ । आलु तथा कृषि महोत्सव आगामी फागुन २६, २७ र २८ गते गरिने चेम्बरले जनाएको छ । 

गल्याङ ११ का अधिकांश कृषकले व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन् । आलु उत्पादनको उर्वरभूमिको रूपमा रहेको जिमुहामा नै आलु महोत्सव गर्ने तय भएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा आलुको प्रदर्शनी तथा बिक्री गरिनुका साथै अन्य कृषि उपजको पनि बिक्री तथा प्रदर्शनी हुनेछ ।

महोत्सवमा स्थानीय परिकारका स्टल पनि राखिने भएको छ । आलु तथा कृषि महोत्सवबाट कृषक र उपभोक्तालाई सिधा फाइदा पुग्ने भएकाले यस्तो महोत्सव गर्न लागिएको चेम्बर अफ कमर्सले जनाएको छ । 

महोत्सवमा लत्ताकपडा र अन्य सामानहरू नराखिने भन्दै रानाभाटले कृषिमा जोड दिएर महोत्सवको आयोजना गरिएको बताउनुभयो ।