• १५ मंसिर २०८१, शनिबार

बागलुङमा श्रम रोजगार बैङ्क सञ्चालन

blog

श्रम रोजगार बैंकमा आवद्ध भएका श्रमिकहरुलाई सपथ ग्रहण गराइँदै र कार्यक्रममा सहभागीहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
बागलुङ, पुस १७ गते ।
 बागलुङको ताराखोला गाउँपालिकामा श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको छ । गाउँपालिकामा रोजगारी सिर्जना गरी युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न गाउँपालिकाले श्रम रोजगार बैङ्क स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

मङ्गलबार गाउँपालिकाको केन्द्रमा आयोजना गरिएको एक कार्यक्रमका बिच प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री देवेन्द्र पौडेलले श्रम रोजगार बैङ्कको शुभारम्भ गर्नुभएको हो । गाउँपालिकाको पहिलो शहीद विश्व गौचनको नामबाट ‘‘शहीद विश्व श्रम रोजगार बैङ्क’’ नामाकरण गरिएको छ । 

वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्ने, स्थानीय सीप र क्षमताको उपयोग गरेर पालिकालाई समृद्ध बनाउने उद्देश्यले विश्व श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको पालिका अध्यक्ष धनबहादुर विकले बताउनुभयो । उहाँका अनुसार बैङ्कमा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई आबद्ध गराइने छ ।

श्रम रोजगार बैङ्कमा आबद्ध भएका युवाहरूलाई पालिकाले निजी क्षेत्रसँग समन्वय गरेर विकास योजनाहरूमा परिचालन गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले ६७ जना युवा श्रमिकहरू श्रम रोजगार बैङ्कमा आबद्ध भएका छन् । बैङ्क शुभारम्भका अवसरमा उनीहरूलाई शपथ ग्रहण समेत गराइएको थियो ।

पालिका अध्यक्ष विकले भन्नुभयो, ‘‘एक घर एक रोजगारीको व्यवस्था गरी युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्न लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यसले श्रमिकहरूको सम्मान गर्ने छ । बेरोजगार युवाहरूलाई रोजगारी प्रदान गर्नेछ । मानव संसाधनको विकास गरी पालिकालाई आर्थिक विकास र समृद्धिको बाटोमा लैजान मद्दत गर्ने विश्वास छ ।’’

पालिका  भित्र रहेका दुई हजार दुई सय घरधुरीलाई आगामी दिनमा श्रम रोजगार बैङ्कमा आबद्ध गराउँदै लैजाने लक्ष्य रहेको पालिका अध्यक्ष बि.कले बताउनुभयो । बैङ्कमा आबद्ध भएका श्रमिकहरूले दैनिक आठ घण्टा अनिवार्य रूपमा श्रम गर्नुपर्ने छ । श्रम गरेबापत प्रतिघण्टा एक सय १५ रुपियाँ पालिकाले ज्याला निर्धारण गरेको छ । पालिकाभित्र रहेका निजी क्षेत्रसँग श्रम सम्झौता पालिकाले गरी श्रमिकहरूलाई परिचालन गरिने छ ।

श्रम रोजगार बैङ्कमा आबद्ध भएका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराइने पालिकाले जनाएको छ । पालिकाले गाउँसभाबाट श्रम रोजगार बैङ्क सञ्चालन कार्यविधि पारित गरी बैङ्क स्थापना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिनुभयो । श्रम रोजगार बैङ्कमार्फत स्थानीय सीप, कला र क्षमताको अधिकतम उपयोग गरी पालिकाको पूर्वाधार विकासलाई अब्बल बनाउने बैङ्कको लक्ष्य रहेको उहाँले बताउनुभयो । पालिकाभित्र रहेका ढुङ्गाखानी, कृषि र विकास योजनाहरूमा श्रमिकहरूलाई परिचालन गरिने उहाँले बताउनुभयो ।

सामाजिक सुरक्षा कोषमा श्रमिकले मासिक ज्यालाको २१ प्रतिशत र पालिकाले ११ प्रतिशत रकम जम्मा गर्ने व्यवस्था गरिएको पालिकाका प्रशासकीय अधिकृत प्रकाश गैरेले बताउनुभयो ।