काठमाडौं, पुस १७ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो बताउनुभएको हो ।
उहाँले जनतासँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गर्नुभयो । उहाँले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनर्गठन गरेको जानकारी दिनुभयो ।
‘‘जनतासँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ । त्यो टोल कमिटीदेखि समिति गठन, पुनर्गठन भएको छ । तिनीहरु सक्रिय भएका छन्, तिनीहरु चलायमान भएका छन् । कार्यकर्ताहरुमा जागृति आएको छ । जनतामा आशा पलाएको छ । यो अभियानले चुनावको बेलामा मात्रै होइन, माओवादी अरु बेलामा पनि आउँदा रहेछन्, आए भन्ने खालको जनतामा आशाका झिल्का पैदा भएको छ ।,’’ प्रवक्ता सापकोटाले भन्नुभयो, ‘‘बनेका ठाउँका सङ्गठनहरु सक्रिय थिएनन्, तिनीहरु अहिले सक्रिय भएका छन्, सुदृढ भएका छन् । नबनेका ठाउँमा सङ्गठन बनेको छ । पहिला छिटपुट निष्क्रिय भएर बस्ने, कतिपय सन्दर्भमा पार्टीबाट पलायन हुने जस्ता घटना भए भने अहिले पार्टीमा पलायन हुने कुराको अन्त्य भयो । पुराना कार्यकता पनि जोडिएका छन् । अलि उल्लेखनीय सङ्ख्यामा पनि पार्टी प्रवेश कार्यक्रम भएको छ ।’’
प्रवक्ता सापकोटाले कार्यकर्तामा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभई माओवादी अरु बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गर्नुभयो । उहाँले अभियानले पुराना नेताहरु पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरुको सङ्ख्यामा वृद्धि हुँदै जान उल्लेखनीय भूमिका खेलेको बताउनु भयो । उहाँले पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पार्टीमा एउटा नयाँ आशा र उत्साह पैदा भएको छ । जनता हामीतिर फर्किएका छन् । जनताका आलोचना र गुनासा छन् तर जनताले यिनलाई निरन्तरता दिनुपर्छ भनेर माग गरेका छन् । नवीकरणको प्रक्रिया तीव्रताका साथ अघि बढेको छ ।’’ प्रवक्ता सापकोटाले अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको बताउनुभयो ।