अनिल पराजुली
हेटौँडा, पुस १७ गते। मकवानपुरको मनहरी गाउँपालिकामा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ। मङ्गलबार बिहान मनहरी ७ स्थित रमौलीमा छिरेको जङ्गली हात्तीले चार वटा घरमा क्षति गरेको छ।
बिहान ६ बजेको समयमा पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलबाट गाउँ छिरेको हात्तीले रमौलीका खड्गबहादुर थिङको काठ र टिनले बनेको भान्साकोठा भत्काएको छ। भगवती सुवेदीको घरको अगाडिको काठको पाली भत्काएको छ।
त्यस्तै अर्जुन दाहालको घरको अगाडिको काठको पाली भत्काएर धान खाइदिनुका साथै चित्रबहादुर घलानको घरको जस्ता भत्काएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हात्तीले क्षति गरेको सम्बन्धमा जानकारी पाएपछि पर्सा राष्ट्रिय निकुञ्जबाट नेपाली सेना, सहायक प्रहरी पोष्ट कत्ले खोला र मनहरीबाट टोली खटिएको टोलीले हात्तीलाई जङ्गलतर्फ लखटेको प्रहरीले जनाएको छ। मनहरीमा यसअघि पनि आधा दर्जनभन्दा बढी घरमा हात्तीले क्षति पुर्याएको छ।