शान्ता अधिकारी
चितवन, पुस १७ गते । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भएर बग्ने राप्ती र नारायणी नदीमा दुई सय ६५ वटा घडीयाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाले हालै गरेको अनुगमनमा यी दुई नदी क्षेत्रमा छ वटा भालेसहित दुई सय ६५ वटा घडीयाल गोही भेटिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार नारायणी नदीमा तीन भालेसहित एक सय १३ र राप्ती नदीमा तीन भालेसहित एक सय ५२ गोही भेटिएका हुन् । गत पुस १ गतेदेखि १५ गतेसम्म यी दुई नदी क्षेत्रमा निकुञ्ज र केन्द्रका गरी दश जना कर्मचारीले गोहीको अनुगमन गरेका थिए ।
अनुगमन कर्ताहरुले काठको डुङ्गा, रवर बोट, जीपीएस, क्यामेरा, बाइनाकुलर लगायतका सामग्री प्रयोग गरी गोहीको अनुगमन गरेका हुन् । गोहीको अनुगमनको क्रममा नारायणी नदीमा तीन वटा डल्फिनसमेत रेकर्ड गरिएको थियो ।
विश्वभर नेपाल र भारतमा मात्र पाइने लोपोन्मुख प्रकृतिको यो प्राणी नेपालले साइटिस अनुसूची १ मा राख्दै संरक्षण गर्दै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै रहेको घडीयाल प्रजनन केन्द्रले प्रत्येक वर्ष एक सयको हाराहारीमा वयस्क अवस्थामा पुगेका गोही प्राकृतिक वासस्थानमा छोड्दै आएको छ । पछिल्लो समय प्रजनन केन्द्र र प्राकृतिक वासस्थानमा पनि भाले गोहीको सङ्ख्या ज्यादै न्यून छ ।