• १५ मंसिर २०८१, शनिबार

जनप्रतिनिधिसँग जनताका गुनासै गुनासा

blog

अर्जुन काफ्ले

स्याङ्जा, पुस १७ गते । अर्जुन चौपारी गाउँपालिका-१ रैतेका ४२ वर्षीय कृष्ण प्रसाद शर्माले सरकारले नागरिकका आवश्यक मागको पूर्ति नगरेको गुनासो गर्नुभएको छ । जनताका गुनासो सुन्ने उद्देश्यले स्याङ्जा क्षेत्र नं १ का सङ्घीय सांसद राजु थापाको सचिवालयले गरेको जनता र जनप्रतिनिधिसँग सङ्घीय सांसद कार्यक्रममा शर्माले पहुँचको आधारमा बजेट विनियोजन हुँदा अत्यावश्यक ठाउँमा बजेट नपुगेको गुनासो गर्नुभएको हो ।

नेता, सांसदको घरघरमा बिजुली, मोटरबाटो, खानेपानी पुगेको बताउँदै शर्माले सामान्य पहुँच नभएका नागरिकले भने सुविधा पाउनबाट वञ्चित भएको बताउनुभयो । यस्तै, दारेगौडाकी झयापी देवी साही समुन्द्रले आफूहरू भएका कारण दलित बस्तीमा पाउनुपर्ने अत्यावश्यक सुविधा नपाएको बताउनुभयो । छेउछाउमा मोटरबाटो छ, अन्य जातको बस्तीमा घर घरमा खानेपानी छ, सामुदायिक भवन छ तर हाम्रो बस्ती भने सबै हेरेर चित्त बुझाउनु परेको गुनासो गर्नुभयो । 

वडा नं १ का कमलकान्त अर्यालले कृषि प्रदान देश कृषिमै ढुङ्गे युगमा रहेको बताउनुभयो । उहाँले पहुँचको आधारमा अनुदान वितरण गरिएको बताउँदै कृषिमा सहयोग कामको आधारमा हुनुपर्ने बताउनुभयो । सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जाका कृषकले मूल्य कम पाएको र बिक्री वितरणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाले सम्बोधन गर्न नसकेको जनताका आवश्यक माग सम्बोधन सरकारले आनाकानी गरेकोमा जनताको हस्ताक्षर सङ्कलन गरेर सिंहदरबार घेराउ गर्न पुग्ने बताउनुभयो । उहाँले यहाँका मुख्य सडक कालोपत्रे, पुतलीबजारदेखि नुवारभञ्ज्याङ सडकको बक्स कटिङको लागि पहल गरिदिन सांसद थापासँग आग्रह गर्नुभएको थियो । 

४४ जना जनता तथा जनप्रतिनिधिले मुख्य गरेर खानेपानी, मोटरबाटो, सामुदायिक भवन, शिक्षा र स्वास्थ्य सेवा लगायतका बारेमा गुनासो गरेका थिए । गुनासो सुनुवाइ गर्दै सांसद थापाले जनताको काम गर्न निर्वाचित भएको बताउँदै जनताका माग पुरा गर्न प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । खानेपानी, स्वास्थ्य, शिक्षा नागरिकका नैसर्घिक अधिकार भएको बताउँदै सांसद थापाले पालिका र प्रदेश सरकारले गर्न नसक्ने कामको सङ्घीय सरकारबाट गर्न लाग्ने बताउनुभयो । 

यस्तै, माग धेरै आएको बताउँदै आवश्यक र मुख्य योजनालाई सम्बोधन गर्न पहल गर्ने सांसद थापाको भनाइ थियो । श्रोत सुनिश्चित नभई ठेक्का खोल्दा र आर्थिक मन्दीका कारण यहाँका धेरै योजनाहरू अलपत्र परेको सांसद थापाको भनाइ थियो । 

आर्थिक सम्पन्नता नभएसम्म सधैँ नागरिक समस्यामा रहने बताउँदै थापाले त्यसको लागि सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो । आगामी दिनमा आफ्नो क्षेत्रभित्रका हरेक पालिकामा पुगेर गुनासो सुनेर केन्द्रमा पहल गर्ने थापाले बताउनुभयो । सङ्घीय, प्रदेश सांसदले निर्वाचन पश्चात् स्याङ्जा गरिएको पहिलो पटक गरिएको सांसद कार्यक्रम हो ।