काठमाडौं, पुस १७ गते । गोरखापत्रका पूर्व सम्पादक एवम् वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको मङ्गलबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरलाई विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिएको हो ।
धनकुटाको कचिँडेमा जन्मिनुभएका उहाँको सोमबार अपराह्न ८७ वर्षको उमेरमा निधन भएको थियो । उहाँ दमको समस्याबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न पत्रकार तथा शुभचिन्तकहरू आर्यघाट पुग्नुभएको थियो ।
यसैगरी, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय रत्नराज्यलक्ष्मी क्याम्पसले उहाँको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।
पत्रकारिता तथा आमसञ्चार विभागीय प्रमुख श्रीराम पौडेलले प्रमुख पौडेलद्वारा जारी विज्ञप्तिमा नेपालको समग्र पत्रकारिता तथा पत्रकारिता शिक्षामा पोखरेलले पुर्याउनुभएको योगदान सधैँ स्मरणमा रहने उल्लेख छ ।
प्रमुख पौडेलले क्याम्पसले स्नातक तहमा पत्रकारिता पठनपाठन सुरु गर्दा पोखरेल संस्थापक अध्यापकमध्ये एक हुनुहुन्थ्यो भने पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सुरु गर्दा पनि पोखरेलको योगदान रहेको स्मरण गर्नुभयो ।
पत्रकारिता र अध्ययन अध्यापन तथा अनुसन्धान लगायतका क्षेत्रमा जीवन समर्पण गर्नुभएका पोखरेल राष्ट्रिय मानव अधिकार अयोगका सदस्य समेत रहनुभएको प्रमुख पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै पोखरेल राष्ट्रिय समाचार समिति र गोरखापत्र दैनिकको सम्पादक रही नेतृत्वदायी भूमिकामा समेत रहनुभएको थियो ।