तानसेन समाचारदाता
तानसेन, पुस १७ गते । ऐतिहासिक पाल्पा दरबार परिसर मख्खन टोलमा ढुङ्गा बिछाउने काममा ढिलाइ भएको छ । निर्माण कार्य सम्झौता अवधि सकिँदा पनि निर्माण व्यवसायीले काम गर्न नसकेको हो ।
मख्खन टोलको सौन्दर्यीकरण गर्न तानसेन नगरपालिकाले आठ महिनाअघि ५७ वटा घरटहरा हटाएको थियो । २०८० साल असार ९ गतेदेखि ठेक्का दिएर ढुङ्गा छाप्ने काम अघि बढाइएको हो ।
हालसम्म पनि कामले गति लिन सकेको छैन । छ महिनाभित्र काम सकिने गरी नगरपालिकासँग सम्झौता भएको थियो । ठेक्का लिएको निर्माण व्यवसायी एबी बिल्डर्स ग्रुप एन्ड सप्लायर्स काठमाडौँले निर्माण कार्यमा ढिलासुस्ती गरेको छ ।
निर्माण कम्पनीले मख्खन टोलमा ८८ घनमिटर ढुङ्गा छाप्नका लागि ४१ लाख ६९ हजार ६४३ रुपियाँमा सम्झौता गरेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो । समयमै काम सम्पन्न गर्न ताकिता गरे पनि निर्माण व्यवसायीले विविध कारण देखाएर ढिलाइ गरेको भनाइ उहाँको छ । घरटहरा हटाई समयमा नै ढुङ्गा बिछाउने काम नगर्दा ऐतिहासिक बजार क्षेत्र कुरूप देखिएको छ ।
सडक सौन्दर्यीकरण गर्ने तथा पाल्पा दरबार परिसरलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजनासहित घरटहरा हटाइए पनि काममा भएको ढिलाइप्रति स्थानीयवासी आक्रोशित बनेका छन् ।
सडकका घरटहरा तत्काल हटाउन लगाएर नगरपालिकाले सडक सौन्दर्यीकरणको काममा ढिलाइ गरेको प्रति स्थानीय सन्दीपलाल शाक्यले गुनासो पोख्नुभयो । यतिका महिनासम्म सडक निर्माण तथा दरबार परिसर सौन्दर्यीकरणमा बेवास्ता गरिएको आरोप उहाँको छ ।
मूलढोका बनाउन टेन्डर
१७० वर्ष पुरानो ऐतिहासिक मूलढोका बनाउन टेन्डर आह्वान गरिएको छ । पाल्पा दरबार परिसरको मूलढोका संरक्षण गर्न पुरातत्व विभागले निर्माण व्यवसायी छनोट गरेर काम अगाडि बढाएको छ । विभागले मूलढोकाको मर्मत सुधार गर्न ८१ लाख ९५ हजार १२९ रुपियाँ लागतमा ठेक्का दिएको छ । दरबारको मूलढोका नेपालकै सबैभन्दा पुरानो ठुलो ढोका मानिन्छ ।
राणाकालमा बनेको ऐतिहासिक मूलढोका जीर्ण बनेको तानसेनका इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा १९११ देखि १९३० सालमा मूलढोका निर्माण गर्न लगाएको बताइन्छ ।