• ११ मंसिर २०८१, मङ्गलबार

दुई जनालाई जरिबाना तथा कैद

blog

काठमाडौँ, पुस १७ गते । अवैध सम्पत्ति शुद्वीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौँले दुई जनालाई कैद तथा जरिबाना गर्ने फैसला गरेको छ । 

सोमबार अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमोदकुमार जैसवाल र पप्पु ठाकुरलाई कैद र जरिबानाको फैसला गरेको हो । जैसवाललाई आठ वर्ष कैद तथा ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपियाँ बिगो र बिगोको दोब्बर अर्थात् ८३ करोड २३ लाख ८५० रुपियाँ जरिबाना तोकिएको हो । 

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार त्यही घटनामा मुछिएका पप्पु ठाकुरलाई पाँच वर्ष कैद तथा तीन करोड ६७ लाख १४ हजार रुपियाँ बिगो र बिगोको दोब्बर अर्थात् सात करोड ३४ लाख २८ हजार रुपियाँ जरिबाना हुने फैसला भएको छ । 

दुवैलाई आलु र प्याज खरिद गरेको नक्कली कारोबार देखाई सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुवैविरुद्ध २०७७ वैशाख २ गते मुद्दा दायर गरेको थियो । रेहान फर्म दर्ता प्रमाणपत्र कतैबाट पनि जारी नभएकाले किर्ते कागजातका आधारमा फर्म स्थापना र कारोबार गरेको दाबी गरेको हो । त्यही मुद्दामा आरोपित दोषी ठहर भएका हुन् ।