• १० मंसिर २०८१, सोमबार

ग्लोबल आइएमईलाई विश्वका उत्कृष्ट बैङ्कभित्र पार्ने गरी काम गरिरहेका छौँ

blog

देशका सबै जिल्लामा उपस्थिति जनाएको ग्लोबल आइएमई बैङ्क सेवाको पहुँचसहित कुल पुँजी तथा चुक्ता पुँजीको हिसाबले पनि मुलुककै सबैभन्दा ठुलो बैङ्क हो । स्थापनाको १७ वर्षमा यो बैङ्कले मुलुकभित्र मात्र नभएर मुलुकबाहिर पनि आफ्नो उपस्थिति विस्तार गर्दै छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका सो बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग मुलुकको अर्थतन्त्र, निजी क्षेत्रको अपेक्षा र बैङ्कको भावी कार्ययोजनालगायतका विषयमा केन्द्रित रहेर गोरखापत्रले गरेको कुराकानी :  

करिब दुई वर्ष लामो मन्दीपछि मुलुकको अर्थतन्त्र गतिशील बनिरहेको सरकारको दाबी छ । निजी क्षेत्रको अनुभव पनि त्यस्तै हो ?

अर्थतन्त्रमा बिस्तारै सुधार देखिन सुरु गरेको हामीले पनि अनुभव गरेका छौँ । अर्थतन्त्रका अधिकांश बाह्य सूचक सकारात्मक बनेका छन् । विदेशी मुद्रा सञ्चिति बढेको छ । विपे्रषण बढेको छ । 

विगत केही महिनाको तथ्याङ्क हेर्ने हो भने पर्यटक आगमन पनि बढेको देखिन्छ तर हाम्रो अर्थतन्त्रका आन्तरिक केही कुरामा समस्या अझै छ । बैङ्कमा तरलता बढे पनि कर्जा विस्तार हुन सकेको छैन । एकल अङ्कको ब्याजदरले लगानी प्रोत्साहन हुनुपर्ने त्यो हुन सकेको छैन । उपभोक्ता र लगानीकर्ता दुवैको ‘कन्फिडेन्स’ बढ्न सकेको छैन । अर्थतन्त्र पूर्ण गतिशील बन्न कन्फिडेन्स बढ्न आवश्यक छ । 

अर्थतन्त्रमा बारम्बार देखिने समस्याका लागि अब अल्पकालीन मात्र भन्दा पनि दीर्घकालीन समाधानको उपायमा सरकार लाग्नु पर्छ भन्ने अनुभव यस पटक भयो । किस्ता किस्तामा समस्या समाधान गरेर अर्थतन्त्रमा हामीले खोजेको सुधार पाउन कठिन हुन्छ । 

अहिलेका असहज संरचना र कानुनी प्रावधानमा निजी क्षेत्रको समेत सुझाव समेटेर सुधार गर्ने पहल सरकारले नै गर्नु पर्छ । निजी क्षेत्रसँग सम्बन्धित जति पनि समस्या छन्, त्यसको एकमुस्ट समाधानका लागि एउटा छुट्टै संयन्त्र आवश्यक छ । त्यसलाई स्थायी संयन्त्र पनि बनाउन सकिन्छ । यस किसिमका पहलले मात्र मुलुकको अर्थतन्त्र दीर्घकालसम्म गतिशील हुन सक्छ । अहिले अर्थतन्त्रमा देखिन थालेको सामान्य सुधारलाई पनि यस किसिमका उपाय प्रयोग गरेर निरन्तर राख्न सकिन्छ । 

अर्थतन्त्रमा बारम्बार देखिने समस्याका लागि अब अल्पकालीन मात्र भन्दा पनि दीर्घकालीन समाधानको उपायमा सरकार लाग्नु पर्छ । किस्ता किस्तामा समस्या समाधान गरेर अर्थतन्त्रमा हामीले खोजेको सुधार पाउन कठिन हुन्छ । 

अर्थतन्त्रका सूचकहरूमा सुधार देखाइए पनि लगानी गर्ने मनोबल खस्किएको आवाज पनि सुनिन्छन् । मुलुकको अहिलेको लगानीको वातावरणलाई तपाईंले कसरी विश्लेषण गर्नुहुन्छ ?

सुधार नै नभएको भन्ने होइन । सुधार हुन समय पनि लाग्छ । लामो मन्दीका कारण लगानीकर्ता र उपभोक्ता दुवैको मनोबल खस्किएको हो । 

परिस्थिति असहज हुँदा कोही पनि लगानी गर्न तयार हुँदैन । यो सामान्य कुरा पनि हो तर अर्थतन्त्रलाई ‘इन्जेक्ट’ गराइराख्न पनि लगानी आवश्यक पर्छ । यसका लागि सरकारले सुधारका पहललाई गति दिनु पर्छ । भएका सुधारबाट जनताको मनोबल जित्ने प्रयास गर्नु पर्छ । त्यो भनेको सरकारको काम कारबाहीमा यसको प्रतिविम्ब हुनु पर्छ भन्ने हो । अर्को कुरा निजी क्षेत्रको साथ र समर्थनबिना अर्थतन्त्रको सुधार दिगो हुन सक्दैन । 

निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सके मनोबल विस्तारै बढ्न सक्छ । निजी क्षेत्रले असहज अवस्थामा भोगेका समस्यालाई समाधान गरेर सरकारले दृढ प्रतिबद्धता देखाए सहकार्य स्वाभाविक नै हुन्छ । मनोबल बढाउन राज्य र निजी क्षेत्रले आपसी समन्वय र सहकार्यमा विशेष कार्यक्रम ल्याउन जरुरी छ । त्यसबाट मात्रै लगानीको वातावरण सिर्जना हुन सक्छ । 

विगतमा उच्च ब्याजदर र तरलता अभावकै कारण व्यवसाय गर्न कठिन भइरहेको निजी क्षेत्रको गुनासो रहन्थ्यो । अहिले अवस्था के हो ?

ब्याजदर उच्च हुँदा कर्जाको माग कम हुने र व्यवसायको लागत बढ्ने हुन्छ । त्यसले ब्याजदर उच्च हुँदा व्यवसाय गर्न कठिन हुने नै भयो तर अहिलेको हाम्रो समस्या ब्याजदरसँग मात्र सम्बन्धित छैन । ब्याजदर एउटा कारण हो । यहाँ त्यस्ता अनगन्ती कारण छन् । त्यसमध्ये धेरै कानुनी विषय र कार्यशैलीसँग पनि सम्बन्धित छन् । ब्याजदरले कुनै समय व्यवसायमा अप्ठ्यारो भएको हो, अर्थतन्त्रमा सुधारको सङ्केत देखिनासाथ यो एकल अङ्कमा झरिसकेको छ तर अब ब्याजदरलाई नै कारण देखाएर मात्र गुनासो गर्ने ठाउँ कम छ । 

अहिले मुलुकको बाह्य क्षेत्र सुदृढ हुँदा त्यसको अवसर प्रयोग गर्न हामी कतै चुकेका हौँ कि जस्तो पनि देखिन्छ । त्यस्तो अवसरलाई हामीले आन्तरिक अर्थतन्त्र सुधारमा प्रयोग गर्न सकेको भए त्यसले अर्थतन्त्रको सङ्कटलाई अलि छिट्टै सहज बनाउन पनि सक्थ्यो । समस्या एकातिर तर सधैँ ब्याजदरलाई मात्र मुख्य समस्या मान्दा त्यसले हामीलाई खास समस्याको समाधानतर्र्फ धेरै केन्द्रित गर्न सकेन । 

निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सके मनोबल बिस्तारै बढ्न सक्छ । निजी क्षेत्रले असहज अवस्थामा भोगेका समस्यालाई समाधान गरेर सरकारले दृढ प्रतिबद्धता देखाए सहकार्य स्वाभाविक नै हुन्छ । 

देशकै ठुलोमध्येको ग्लोबल आइएमई बैङ्कको सञ्जाल र पुँजीको अवस्था के कस्तो छ ? 

अहिले कुल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल धेरै सूचकमा ग्लोबल आइएमई बैङ्क मुलुकको सबैभन्दा ठुलो बैङ्क हो । सबैका लागि बैङ्क भन्ने नारालाई व्यवहारमा नै रूपान्तरण गर्नका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयमार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ । त्यसै गरी कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा पनि ग्लोबल आइएमई बैङ्क मुलुकको सबैभन्दा ठुलो बैङ्क रहेको छ । यो वर्ष चुक्ता पुँजीको एक प्रतिशत बोनस सेयर वितरणपश्चात् बैङ्कको चुक्ता पुँजी ३६ अर्ब १३ करोड रुपियाँ पुगेको छ । जगेडा कोषमा २३ अर्ब २८ करोड रुपियाँ रहेको छ । यसरी बैङ्कको कुल पुँजी ६० अर्ब रुपियाँ हाराहारी पुगेको छ ।  

बैङ्कको सेवा विस्तार, डिजिटल आबद्धतालगायतका क्षेत्रमा अल्पकालीन र दीर्घकालीन योजना के के छन् ?

स्थापनाको छोटो समयमै ग्लोबल आइएमई बैङ्क मुलुककै सबैभन्दा ठुलो बैङ्क बन्न सफल भएको छ । आमसेवाग्राहीको सन्तुष्टिका लागि यसको सेवालाई अझै उत्कृष्ट बनाउन आवश्यक हुन्छ । त्यसमा हामीले मेहनत गरिरहेका छौँ ।

अहिले डिजिटल र भर्चुअल बैङ्किङको अवधारणाको विकास पनि द्रुत गतिमा अघि बढेको छ । समय अनुसार बैङ्किङ सेवालाई अगाडि बढाउन हामीले यससम्बन्धी पूर्वाधारमा लगानी बढाउँदै गएका छौँ । अटोमेटिक चेक डिपोजिट गर्ने, क्यास डिपोजिट गर्ने मेसिन तथा डिजिटल प्रविधिको विकास र विस्तारमा लगानी गरेका छौँ । जसले सेवाग्राहीलाई सहज र सरल रूपमा बैङ्किङ सेवा प्रदान गर्ने छ । अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको र सोको प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्तन सेवा प्रवाहमा लागिपरेका छौँ र भविष्यमा समेत थप आयाम समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्‍याउने लक्ष्य लिएका छौँ ।

अबको बैङ्किङ थप चुनौतीपूर्ण छ । डिजिटल र भर्चुअल बैङ्किङको विकास र विस्तार व्यापक भइरहेको छ । यसले परम्परागत बैङ्किङलाई पूर्ण रूपमा ‘अब्सोसुट’ बनाउन सक्छ । त्यसैले हाम्रा बैङ्किङ नीति, नियम पनि तदनुरूप विकास गर्न आवश्यक हुन्छ ।

अबको पाँच वर्षमा ग्लोबल आइएमई बैङ्कलाई कुन रूपमा देख्न सकिन्छ ?

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैङ्क हो । त्यति मात्र होइन, हाम्रो सञ्जाल अन्तर्राष्ट्रियस्तरमा पनि रहेको छ । नेपाली श्रमिक रहेका धेरै मुलुकमा हाम्रो उपस्थिति छ भने संयुक्त अधिराज्य, अस्टे«लिया र भारतमा हामीले सम्पर्क कार्यालय नै स्थापना गरेर सेवा दिइरहेका छौँ । त्यसै गरी दक्षिण कोरियामा हामीले आफ्नो शाखा स्थापना गर्ने प्रक्रियामा छौँ । ग्लोबल आइएमई बैङ्कलाई मुलुकको सबैभन्दा उत्कृष्ट बैङ्क बनाउन हामीले काम गरिरहेका छौँ । अझै भन्ने हो भने ग्लोबल आइएमई बैङ्कलाई नेपालको सबैभन्दा ठुलो बैङ्क मात्र होइन, विश्वका एक हजार उत्कृष्ट बैङ्कभित्र पार्ने गरी हामीले काम गरेका छौँ । 

बैङ्किङ क्षेत्र थप सुदृढ बनाउन भविष्यमा कस्ता नियामकीय प्रावधान अथवा नीतिको आवश्यकता देख्नुहुन्छ ?

अबको बैङ्किङ थप चुनौतीपूर्ण छ । डिजिटल र भर्चुअल बैङ्किङको विकास र विस्तार व्यापक भइरहेको छ । यसले परम्परागत बैङ्किङलाई पूर्ण रूपमा ‘अब्सोसुट’ बनाउन सक्छ । त्यसैले हाम्रा बैङ्किङ नीति, नियम पनि तदनुरूप विकास गर्न आवश्यक हुन्छ ।