• २४ वैशाख २०८१, सोमबार

वकिल पेसा छाडेर सुन्तला खेतीमा

blog

वालिङ समाचारदाता

वालिङ, पुस १७ गते । पच्चिस वर्षअगाडि वकिल (कानुन व्यवसायी) पेसालाई छाडेर सुन्तला खेतीमा लाग्नुभएका फनिनारायण अर्याल स्याङ्जा जिल्लामै उदाहरणीय बन्नुभएको छ । यस वर्ष मात्र उहाँले झन्डै ६० लाख रुपियाँ बराबरको सुन्तला बिक्री गर्नुभएको छ ।  

अर्जुनचौपारी गाउँपालिका थापाथोकका ६४ वर्षीय अर्यालले गत वर्ष करिब ६५ लाख रुपियाँ बराबरको सुन्तला बिक्री गर्नुभएको थियो । ८० रोपनी जग्गामा दुई हजार दुई सय सुन्तलाका बिरुवा लगाएका अर्यालले सिँचाइ सुविधा भएको धान खेत मासेर त्रिपुत्र बागवानी फार्ममार्फत सुन्तला खेती गर्दै आउनुभएको हो ।

७० मेट्रिक टन सुन्तला उत्पादन भएको बगैँचाबाट प्रतिकिलो ७५ देखि ८५ रुपियाँमा बिक्री गरेको कृषक अर्यालले जानकारी दिनुभयो । गत वर्ष ८५ मेट्रिक टन सुन्तला उत्पादन गरेर प्रतिकिलो ७५ रुपियाँमा बिक्री गर्दा झन्डै ६५ लाख रुपियाँ आम्दानी भएको थियो । गत वर्षको तुलनामा यस वर्ष १५ मेट्रिक टन सुन्तला उत्पादन घटेको उहाँको भनाइ छ । 

२०३६ सालबाटै सुन्तला लगाउन थाल्नुभएका अर्यालले २०५५ सालदेखि मात्रै व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आउनुभएको हो ।

अर्यालले झन्डै ५० लाख रुपियाँको लागतमा ग्रेडिङ (वर्गीकरण गर्ने) मेसिन जडान गरेर सुन्तलाको मूल्य अनुसार ठुला र साना छुट्याएर बेच्दै आउनुभएको छ । उहाँको सुन्तला भाटभटेनी सुपर मार्केटमार्फत बिक्री हुँदै आएको छ ।

बगैँचाको रेखदेख, गोडमेल र मलको व्यवस्थापन गर्दा वर्षभरिमा झन्डै २५ लाख रुपियाँ लगानी हुने गरेको अर्यालको भनाइ छ । बगैँचाको हेरचाह गर्न नियमित पाँच जनाले रोजगारी पाएका छन् । 

सुन्तला पाक्ने समयमा ४५–५० कामदारको आवश्यकता पर्ने उहाँले बताउनुभयो । आफ्नो बगैँचाका साथै स्थानीय गाउँबाट झन्डै चार करोड रुपियाँ बराबरको सुन्तला खरिदबिक्री गर्दै आएको अर्यालको भनाइ छ । 

उहाँले सुन्तला खेती गरेर छोराछोरीलाई शिक्षा दिइरहनुभएको छ । जेठो छोरा कृषि विषय (एजी) पढ्न अस्ट्रेलिया, माइलो छोरा एमबिए पढ्न अमेरिका र कान्छो छोरा इन्जिनियरिङ पढ्न भारत गएको अर्यालले बताउनुभयो ।