• १२ मंसिर २०८१, बुधबार

भूकम्प प्रतिरोधी घर हस्तान्तरण

blog

राजु लामिछाने

रुकुमपश्चिम, पुस १७ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–६, फारुला गाउँमा बनाइएका भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ । गत कात्तिक १७ गतेको भूकम्पले पूर्ण रूपमा भत्किएका तीन घर एक कार्यक्रमका बिच नगरप्रमुख पुष्प बादीले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो । 

स्थानीय कालीबहादुर कामी, कमल विक र शशिराम बोहराको परिवारलाई नगर प्रमुख बादीले घरको चाबी हस्तान्तरणसँगै न्यानो कपडासमेत उपलब्ध गराउनुभएको हो । कार्यक्रममा नगर प्रमुख बादीले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहनुभएका पूर्वनगर प्रमुख विशाल शर्माको नेतृत्वमा पार्टीले नमुना घर निर्माण गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । 

नगर प्रमुख बादीले सकारात्मक सोचका साथ गरेको कामले सकारात्मक सन्देश प्रवाह हुने बताउनुहुँदै सरकारले दिएको अनुदानमा आफ्नो पनि लगानी थपेर नमुना घर बनाउन आवश्यक रहेको बताउनुभयो । 

भूकम्प प्रतिरोधी नमुना घर निर्माणको अगुवाइ गर्नुभएका पूर्वनगर प्रमुख शर्माले दुई महिनासम्म त्रिपालको सहारामा चिसो रात बिताउँदै आएका तीन परिवारका १६ जना अब आनन्दले सुरक्षित घरमा सुत्न पाउने बताउनुभयो । विपत्का बेला घरबासविहीन भएका गरिब परिवारको बास निर्माणपछि आफूलाई आनन्दको महसुस भएको समेत उहाँले बताउनुभयो । 

मङ्सिर पहिलो साताबाट बनाउन सुरु गरेका चार घरमध्ये हालसम्म तीन घर निर्माण सम्पन्न भएका हुन् । स्थानीय चन्द्रे बुढाथोकीको घर १५ दिनभित्र निर्माण हुने बताइएको छ । 

घर हस्तान्तरण कार्यक्रममा पूर्वनगर प्रमुख शर्माले तीन घर निर्माणको क्रममा परिचालन भएको जनशक्ति र खर्चको जानकारी गराउनुभएको थियो । उहाँका अनुसार तीनवटा भूकम्प प्रतिरोधी नमुना घर निर्माणका लागि चार लाख ८१ हजार ३२१ रुपियाँ खर्च भएको छ भने ५८३ जनाले श्रमदान गरेका छन् । विपत्को बेला गरेको श्रमको खर्च अमूल्य रहेको समेत उहाँले उल्लेख गर्नुभयो । 

शर्माले खर्च भएको रकममध्ये सरकारले अस्थायी आवास निर्माणबापत दिने तीन परिवारको जम्मा रकम एक लाख ५० हजार, धादिङका राजन खतिवडाले २५ हजार, चौरजहारी अस्पतालका प्रमुख डिलबहादुर गिरीले ५० हजार, जहारीखोला सहकारी संस्थाबाट २५ हजार र चौरजहारी नगरपालिका–१२ का लोकेन्द्र देवकोटाले २५ हजार सहयोग गर्नुभएको जानकारी दिनुभयो । त्यसै गरी बाँकी खर्चमध्ये तीन परिवारले प्रतिपरिवार ३५ हजार र बाँकी खर्च आफूले व्यक्तिगत रूपमा बेहोरेको प्रस्ट पार्नुभयो । 

कार्यक्रममा भूकम्पपीडित परिवारका तर्फबाट बोल्नुहुँदै प्रकाश विकले भूकम्पपछि कहाँ बसौँ र कसो गरौँ भनेर चिन्तित भएका बेला माओवादी पार्टीले अगुवाइ गरेर भूकम्प प्रतिरोधी घर बनाइदिएको बताउनुभयो । उहाँले निर्माण भएका तीन वटै घर समान प्रकृतिका रहेको समेत जनाउनुभयो । २४ फिट लम्बाइ र १४ फिट चौडाइमा निर्माण भएका घर अत्यन्त बलिया भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । विकले फलामका रड, सिमेन्ट, गिटी, बालुवा, जस्तापातालगायतका स्थानीय अन्य सामग्रीको प्रयोगबाट पक्की घर बनेको जानकारी दिनुभयो ।