अविनाश चौधरी
धनगढी, पुस १६ गते । अङ्ग्रेजी नयाँ वर्ष र सुदूरपश्चिमको मौलिक पर्व पुसे १५ को बेला धेरै आन्तरिक पर्यटकले धनगढीस्थित जाखोर तालको अवलोकन गरेका छन् ।
नगर क्षेत्रमा महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा रहेको जाखोर तालमा पिकनिक खानेदेखि लिएर घुमघाम गर्नेको भिड भएको हो । जाडो भएपछि जाखोर तालमा घुमघाम गर्न आउनेको सङ्ख्यामा कमी आए पनि नयाँ वर्ष र पुसे १५ को दिन दसैं, तिहारताका जत्तिकै आन्तरिक पर्यटक आएको स्थानीय राजु चौधरीले बताउनुभयो । सार्वजनिक बिदाको दिन घुम्न आउनेहरुको सङ्ख्या बढी रहनेगरेको उहाँको भनाइ छ ।
धनगढी उपमहानगरपालिका –७ देवहरियामा रहेको जाखोर ताल धनगढी उपमहानगरपालिकाको पर्यटन गन्तव्य स्थल हो । यहाँ प्राकृतिक तालको साथै कैयौं प्रजातिको वनस्पति संरक्षण गरिएको देवहरिया वनस्पति उद्यान छ । उद्यानमा रमाउनका लागि पनि दिनहुँ मान्छे त्यहाँ पुग्नेगरेका छन् ।
जाखोर ताल पुगेर रमाउनुका साथै थारु ड्रेस लगाएर फोटो पनि खिचाएको जुगेडाकी रेविका रानाले बताउनुभयो । विभिन्न समुदायको पहिरन लगाएर फोटोसुट गराउने कार्य ताल क्षेत्रमा फष्टाएको छ । फोटो खिच्न प्रतिघण्टा एक सयदेखि दुईसय रुपियाँमा भाडामा विभिन्न समुदायको पहिचान झल्काउने ड्रेस उपलब्ध गराइँदैआएको छ ।