• १४ मंसिर २०८१, शुक्रबार

मानवअधिकार उल्लङ्घनका ६८ घटना

blog

मानवअधिकार वर्ष पुस्तक वार्षिक समीक्षा कार्यक्रमका अतिथि । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १६ गते । ताप्लेजुङमा एक वर्षे अवधिमा मानवअधिकार उल्लङ्घनका ६८ घटना रहेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि एलिना दियालीका अनुसार एक वर्षको अवधि अर्थात सन् २०२३ भित्र उक्त सङ्ख्यामा मानवअधिकार उल्लङ्घनका घटना भएका हुन् ।

इन्सेक प्रतिनिधि दियालीले सोमबार मानवअधिकार वर्ष पुस्तक वार्षिक समीक्षा कार्यक्रम आयोजना गर्दै मानवअधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो । 

प्रस्तुत प्रतिवेदनअनुसार सबैभन्दा बढी करणी तथा यौनजन्य घटना रहेका छन् । एक वर्षको अवधिमा २६ वटा करणी तथा यौनजन्य घटना भएको उहाँले जानकारी दिनुभयो ।

करणी तथा यौनजन्य घटनापछि घरेलु हिंसाका १८ घटना भएको उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । मानवअधिकार उल्लङ्घनका अन्य घटनामा मानव हत्या, अभद्र व्यवहार, कुटपिट, गालीगलौच, बहुविवाह, भौतिक संरचना क्षतिजस्ता रहेका छन् । 

समीक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बू, विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधिले प्रतिवेदनमाथि टिप्पणी गर्दै आफ्नो धारण राख्नुभएको थियो ।