• २४ वैशाख २०८१, सोमबार

कानुन अभावले सङ्घीयता कार्यान्वयन चुनौती

blog

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित विचार गोष्ठी । तस्बिर– मीना कंडेल

मीना कँडेल

कावासोती, पुस १६ गते । सङ्घीयता कार्यान्वयनमा संरचना र कानुनको अभाव चुनौती देखिएको छ । सङ्घीयता आफैँमा खराब नभ यसलाई प्रयोग गर्ने प्रवृति खराब रहेको प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले बताउनुभयो । 

व्यवस्थालाई कार्यान्वयन गर्न नजान्दा गलत प्रवृत्तिले समस्या भएको बताउनुभयो । ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित सङ्घीयता कार्यान्वयनमा देखिएको चुनौती र समाधानका उपायको विचार गोष्ठीमा सो विचार व्यक्त गर्नुभएको हो । 

केन्द्र, प्रदेश र स्थानीय गरी तीन सरकार भए पनि सबै तह र तप्कामा संरचना नहुनु र के सही के गलत भन्ने छुटाउन नसक्दा तथा प्रयोग गर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ । 

नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको मेलमिलाप दिवसभित्र कांग्रेसले विगतमा प्रारम्भ गरेको सशस्त्र सङ्घर्षको औचित्यमाथि कांग्रेसभित्रै प्रश्न उठेको थियो । बीपीले देखाएको बाटोअनुसार नेपाली कांग्रेस हिंड्न नसक्दा कांग्रेस अहिले अरुको हात समाउन बाध्य भएको कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले बताउनुभयो । 

नेपाल बहुजाति, बहुभाषिक राष्ट्र भएकाले संविधान कार्यान्वयन गर्न संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा सहअस्तित्व, सहकार्य र समन्वय भए मात्र संघीयता कार्यान्वयन गर्न सहज हुने कांग्रेस जिल्ला कार्य समितिका उपसभापति बालकृष्ण घिमिरेले बताउनुभयो । 

हाल देशले विभिन्न नाममा राजनीतिक निकास नपाइरहेको अवस्थामा यो नीतिको उपयोगले सार्थक परिणाम सिर्जना गर्न सक्ने बताउनुभयो  । यसैगरी नेतृ विष्णु पाण्डेले नेपालको विकास अपरिहार्य रहेको अवस्थामा नेपाली कांग्रेसभित्र नै एक हुन नसकेको र कार्यान्वयनमा चुनौती थपिएको बताउनुभयो ।

बीपीको राष्ट्रिय मेलमिलापको नीतिले सार्थक परिणाम दिन सक्ने भन्दै यसतर्फ हिँड्न अपरिहार्य रहेको प्रजातान्त्रिक विचार समाज नवलपुरका अध्यक्ष बाबुराम रानाले बताउनुभयो । कांग्रेसले खुम्चिएर नभए खुल्ला तवरबाट बीपीको सिद्धान्तमा लाग्नुपर्ने बताउनुभयो ।