रेखीराम राना
तानसेन, पुस १६ गते । जिल्लाको बगनासकाली –२, पोखराथोक निवासी पदम रानाले विभिन्न विद्यालयमा २५ लाखभन्दा बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाका विभिन्न विद्यालयमा पुगेर रानाले २५ लाख १६ हजार ६६३ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।
विपन्न बालबालिकाको अध्ययनलाई सहयोग गर्न रानाले विद्यालयमा अक्षयकोष स्थापना गरेको बताउनुभयो । रानाले बगनासकाली गाउँपालिकाको सिद्धि माध्यमिक विद्यालयमा आठ लाख ८८ हजार ८८८ रुपियाँ, जनता प्राविमा पाँच लाख पाँच हजार ५५५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
यस्तै विष्णु माध्यमिक विद्यालयमा तीन लाख पाँच हजार ५५५ रुपियाँ, हिमाल माविमा पाँच लाख पाँच हजार ५५५ रुपियाँ र दमकडा माविमा एक लाख पाँच हजार ५५५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभयो ।
विपन्न बालबालिकाको शैक्षिक विकासका लागि सहयोग पुग्नेगरी हिमाल प्राविलाई एक लाख पाँच हजार ५५५ रुपियाँको अक्षयकोष स्थापना गर्न रकम सहयोग गर्नुभयो । दृष्टिविहीन विद्यार्थी, कुमाल समुदायका बालबालिका अध्ययन गर्ने विद्यालय तथा विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा अक्षयकोष स्थापना गरेको रानाले बताउनुभयो ।
आर्थिक अभावका कारण उच्चशिक्षा अध्ययन गर्न नपाएको अनुभव सुनाउँदै उहाँले सबैलाई शिक्षाको पहुँच पुगाउन विद्यालयजस्तो पवित्रस्थलमा सहयोग गरेको बताउनुभयो । रानाले अक्षयकोष स्थापनामा मात्र होइन, विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण, झोला वितरण गर्नुभएको बगनासकाली –३, आर्यभाङ्ज्याङका स्थानीय बासिन्दा मोहन थापाले बताउनुभयो ।