• ४ असार २०८१, मङ्गलबार

प्राविधिक शिक्षा अध्ययन गर्न विपन्नलाई छात्रवृत्ति

blog

छात्रवृत्तिमा नेत्र सहायक अध्ययनरत बुद्धभूमि –९ की रचना थारु ।

जानु पाण्डे

कपिलवस्तु, पुस १६ गते । माध्यमिक शिक्षा परिषद (एसईई) मा ३ जिपिए ल्याउनुभएकी रचना प्राविधिक विषय अध्ययन गर्न राप्ती प्राविधिक शिक्षालयमा भर्ना हुनुभयो । कक्षा २ मा पढ्दा रचनाले बुवा गुमाउनुभएको थियो । जहान पाल्न सकस भएपछि रचनाकी आमा वैदेशिक रोजगारीमा जानुभयो । 

अध्ययनका लागि भन्दै आमाले डेढ लाख रकम पठाउनु भएपछि पहिलो वर्षको भर्ना शुल्क, शिक्षण शुल्क घरभाडा र अन्य खर्च गर्दै रकम सकियो । ‘प्राविधिक शिक्षा पढ्दा धेरै खर्च हुने भएकाले विपन्न समुदायका विद्यार्थीलाई स्रोत जुटाउन सकस हुन्छ । मलाई पनि त्यही समस्या थियो । गाउँकै बृजा संवाद कल्वले मेरो समस्या थाहा पाएका थिए । संवाद क्लबको सहयोगमा १ लाख २० हजार छात्रवृत्ति पाउन सफल भएँ’ बुद्धभूमि नगरपालिका –९ बरकुलपुरकी रचनाले भन्नुभयो ।

रचना हाल नेत्र सहायक (डिप्लोमा इन अप्थाल्मिक साइन्स) को तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । रचनाजस्तै बुद्धभूमि ३ रनगाईकि पुनम थारु पाल्पा रामपुरमा सिभिल इन्जिनियरिङमा डिप्लोमामा अध्ययरत हुनुहुन्छ । बुद्धभूमि १० का मनिष गुप्ता एचए पढ्दै हुनुहुन्छ । 

शिवराज नगरपालिकाका समीर खान र गौरव थारु कम्प्युटर साइन्स र नवीन थारु कृषिविज्ञान अध्ययन गर्दै आउनुभएको छ । उहाँहरुलाई पालिकासँग समन्वयमा किडार्क नेपालले सिड्स परियोजनामार्फत छात्रवृत्ति प्रदान गरिएको छ । सबैले जनही १ लाख २० हजार छात्रवृत्ति रकम प्राप्त गरेको किडार्क नेपाल कपिलवस्तुका जिल्ला संयोजक कृष्ण रावलले बताउनुभयो ।  

परियोजनामार्फत शिवराज नगरपालिकामा ४३ जना र बुद्धभूमि नगरपालिकामा ३५ जना विपन्न र सीमान्तकृत समुदायका बालबालिका र किशोर किशोरीले छात्रवृत्ति पाउनुभएको छ । पालिकासँग सहकार्य गरी रकम वितरण गरिएको थियो । संस्थाले कक्षा ९–१० मा अध्ययन गर्नेले ६ हजार, प्लस टु पढ्नेलाई १८ हजार, स्नातक अध्ययन गर्नेलाई २४ हजार रकम छात्रवृत्तिस्वरुप प्रदान गरेको छ । 

परियोजनाले किशोर किशारीको नेतृत्व विकास गरी विद्यालय छाडेका बालबालिकालाई पुनः भर्ना गराउने, अति विपन्न समुदायका बालबालिकालाई छात्रवृत्तिमार्फत अभिभावकत्व ग्रहण गर्ने र समुदायमा बालविवाह रोक्न सफल भएको बुद्धभूमि नगरपालिका –३ का वडा अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताउनुभयो ।