लहान समाचारदाता
लहान, पुस १६ गते । लहान जटियाहीका मुसहर समुदाय सुरक्षित आवास पाएर खुसी भएका छन् । सुरक्षित आवास भएपछि उनीहरूलाई गुजारा गर्न सहज भएको छ । एउटै बस्तीमा केहिले टलक्क टल्किने छानासहित सुरक्षित आवास पाएर खुसी छन् भने सँगै टाँसिएर रहेका आफ्नो जग्गाजमिन नभएर सुरक्षित आवास पाउन नसकेका भने कहिले सुरक्षित आवास बन्ला भनेर चिन्तित छन् ।
लहान नगरपालिका–१२ मा निर्मित सुरक्षित आवास हालै नगर प्रमुख महेशप्रसाद चौधरीले परिवारलाई हस्तान्तरण गर्नुभयो । यस्तै लहान–१५, मनहर्वाको मुसहर समुदायका ३८ परिवारका लागि सुरक्षित आवास निर्माण सम्पन्न भएपछि हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९/८० मा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यव्रmम अन्तर्गत नगरपालिकाबाट ३० लाख ३२ हजार २३८ रुपियाँ र हिल्टी फाउन्डेसनको सहयोगमा ह्याबिट्याट फर ह्युमानिटी नेपालको २४ लाख रुपियाँ र लाभग्राही घरधनीको श्रमदान रकम पाँच लाख ७९ हजार ४८८ गरी कुल ६० लाख ११ हजार ७२७ रुपियाँ लागतमा भवानी एकीकृतको प्राविधिक सहयोगमा १२ वटा सुरक्षित आवास निर्माण गरिएको हो ।
घर निर्माणका लागि प्रतिपरिवार एक जनाले श्रमदान गर्नुपर्ने र बाँकी सदस्यलाई पारिश्रमिक दिइने सम्झौता गरे पनि घर हस्तान्तरणको बेला पारिश्रमिकबापतको रकम नदिएको लहान–१२ की अध्यक्ष शिवकुमारी सदायले गुनासो गर्नुभयो ।
घर निर्माणको संयोजक नित्यानन्द रामले आवश्यक परेको बेला समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवसँग हस्ताक्षर गराई आफैँ रड, सिमेन्ट, इँटा र जस्तापातालगायत सबै सामग्री खरिद गरिएको जानकारी दिनुभयो । प्रतिपरिवार दुई कोठा भवन, एउटा भान्साकोठा र शौचालय निर्माण गरिदिएको हो । आवास पाएका जटियाहीका शिवकुमारी सदाय भन्नुहुन्छ,“घर भएपछि बल्ल जीवनको भर भयो ।”
घर पाउने खुसी छन् तर जग्गाको अभावमा घर नपाएका करिब १२ मुसहर परिवारको जीवन निकै कष्टकर देखिन्छ ।
सुरक्षित आवास घर निर्माण समितिका कोषाध्यक्ष फुलो सदायका अनुसार यस वडामा रहेका ऐलानी जग्गा हुने खानेले नै हडपिरहेका छन् । दलित मुसहर समुदायलाई बस्न जग्गा छैन । हरेक वर्ष मुसहर समुदायका लागि सुरक्षित बस्ती निर्माणका लागि अवसर आउँछन् तर जग्गा नै नभएपछि बजेट फिर्ता जान्छ । मुसहर समुदायका लागि आएको कार्यक्रम घर बनाउने जग्गा नभएपछि सुँडी, मुस्लिम र थारू समुदायलाई दिनु परेको हो । मुसहर समुदायलाई नागरिकता, आवासका लागि जग्गा नै समस्या रहेको छ । यस वर्ष मङ्सिर, पुसमा नै खाने चामलको मूल्य ७५ रुपियाँ भयो । कृषि मजदुरका रूपमा धान भित्र्याउने बेलामा मजदुरी गरेर छ महिनाका लागि धान भित्र्याउँथ्यौँ ।
दुई वर्षदेखि किसानले मेसिन प्रयोग गरेर धान भित्र्याउन थालेपछि गुजारा गर्नसमेत समस्या भएको छ । ९९ प्रतिशत सुकुमवासी रहेका मुसहर समुदायलाई आवासका लागि घडेरी जग्गा नभएपछि थोरै जग्गामा जसोतसो बस्नुपर्ने बाध्यता रहेको लहान–१ की सोनिया सदायले बताउनुभयो । सुकुमवासीलाई जग्गा उपलब्ध नभएसम्म कुनै पनि गैरसरकारी सङ्घ संस्थाको परियोजना प्रभावकारी नहुने दलित अभियानकर्मी मनोज सदायको भनाइ छ ।