ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), पुस १६ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा सात वटा ठुला गौरवका योजना कार्यान्वयनमा लैजान थालेको छ । बेनी नगरले चालु आर्थिक वर्षमा प्राथमिकता दिएका सडक, खानेपानी र विद्यालय भवन निर्माणका लागि उक्त योजनामा करिब पाँच करोड रुपियाँ बराबर बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको पूर्वाधार शाखाका सबइन्जिनियर चन्द्रबहादुर थापाले चालु आर्थिक वर्षमा नगरपालिकाभित्र सात वटा ठुला योजना सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो । नगरपालिकाले सङ्घ तथा प्रदेश सरकारसँगको साझेदारीमा उक्त ठुला योजना सञ्चालनमा ल्याएको हो ।
सडकतर्फका चार वटा ठुला योजनामा निर्माण व्यवसायी छनोट भई ठेक्का सम्झौता गरेर कार्यान्वयनमा प्रवेश गरेको उहाँको भनाइ छ । एउटा विद्यालय भवन निर्माण र दुई वटा खानेपानी योजना निर्माणका लागि सम्झौताको प्रक्रिया थालिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले दुई करोड बजेट विनियोजन गरेको बेनी–पाखापानी सडक अन्तर्गत वडा नं ६ अर्थुङ्गेदेखि अगाडि वडा नम्बर ९ को सिमानासम्मको एक किलोमिटरको दुरीसम्म सडक ढलान, नाली, घुम्ती, ग्रेड सुधार र कालोपत्रे गर्न श्रमजीवी निर्माण सेवासँग एक करोड ३४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ । यो योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले समपूरक अनुदान एक करोड रुपियाँ उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ८३ लाख ५० हजार रुपियाँ लागत अनुमान गरिएको महारानीथान–छापा–डाँडाखेत सडक योजना निर्माणका लागि श्रमजीवी निर्माण सेवासँगै ५९ लाख ५३ हजार रुपियाँमा ठेक्का लगाएको छ । यो योजनामा पर्खाल, नाली निर्माण गरी चार सय मिटर सडक कालोपत्र गरिने छ ।
तल्लो डडुवा जाने सडक अर्थुङ्गे–पुलाचौर–भूतपानी सडक योजनामा ढलान, नाली निर्माण, पर्खाल र कालोपत्र गर्ने योजनाका लागि ८० लाखको लागत अनुमान गरिएकोमा ५९ लाख ५२ हजार रुपियाँमा श्रमजीवी निर्माण सेवासँगै ठेक्का सम्झौता गरिएको छ । यो योजनाका लागि प्रदेशको समपूरक अनुदानमार्फत बजेट प्राप्त भएको छ । माथिल्लो तातोपानी बजार कालोपत्र गर्ने योजनाका लागि ३२ लाख ९० हजार लागत अनुमान गरिएकोमा २५ लाख ६८ हजार रुपियाँमा ठेक्का सम्झौता भई निर्माणको काम थालिएको छ ।
सङ्घीय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत वडा नम्बर ६ अर्थुङ्गेस्थित जामुनाखर्क माविमा एक तलाको चारकोठे भवन निर्माणका लागि एक करोड रुपियाँ लागत अनुमान गरिएको योजनाको ठेक्का मूल्याङ्कन गरी आशयको सूचना प्रकाशन गरी सम्झौताको चरणमा छ । सङ्घीय विशेष अनुदानमार्फत प्राप्त भएको बजेटबाट वडा नम्बर २ खबरा खानेपानी योजना सञ्चालनका लागि ४० लाख लागत अनुमान गरिएको योजना सम्झौताको चरणमा रहेको छ ।
सङ्घको विशेष अनुदान र नगरपालिकाको साझेदारीमा ९० लाख रुपियाँ लागत अनुमान गरिएको पुलाडाँडा–पुरुन्डे खानेपानी योजना सम्झौताको चरणमा रहेको इन्जिनियर थापाले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले साना उपभोक्ता समिति र ठुला योजनालाई ठेक्कामार्फत कार्यान्वयनमा लागिएको उल्लेख गर्नुभयो । उहाँले योजनालाई प्रभावकारी र गुणस्तरीय बनाउन नगरपालिका जुटेको बताउनुभयो ।