प्रेम अधिकारी
पशुपतिनगर, पुस १६ गते । अङ्ग्रेजी नयाँ वर्ष २०२४ मनाउन कन्याम र अन्तुमा स्वदेशी र विदेशी पर्यटक भरिभराउ भएका छन् । बाह्रै महिना पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्न आइतबार थप भिडभाड बढेको छ । नेपालका विभिन्न जिल्लाका र विशेष गरी भारतीय पर्यटकले यहाँका प्रायः सबै होटल, होमस्टे बुकिङ गरिसकेका छन् ।
सधैँ जसो भिड हुने यी क्षेत्रमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकको चाप बढ्ने र कोठा नपाइने भएपछि पर्यटकले अग्रिम बुकिङ गरेको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तुका अधिकांश होटल, होमस्टे तथा कटेज शनिबारदेखि सोमबारसम्मका लागि बुकिङ भइसकेका छन् । घिमिरेले भन्नुभयो, “अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएकामध्ये ६० प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् ।”
भारतको सिक्किम, मिरिक, सिलीगुडी, दार्जिलिङ र पश्चिम बङ्गालका पर्यटकले होटल बुक गरिसकेका छन् । अन्तुमा ६४ भन्दा बढी सामुदायिक तथा निजी होमस्टे छन् । सानाठुला गरी ५० भन्दा बढी होटल तथा कटेज सञ्चालनमा रहेका छन् । बङ्गाली पर्यटकले पछिल्लो समय अन्तु, कन्याम रोज्ने गरेका छन् ।
अन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउँछन् । यस्तै अन्तु पोखरीमा डुङ्गा सयर गर्न र घोडचढी गरी चिया बगान डुल्न पर्यटक रुचाउँछन । अन्तुबाट कञ्चनजङ्घा, कुम्भकर्णसहितका हिमालका दृश्यावलोकन गर्न सकिन्छ । चियावारी र फूलबारीभित्र चिटिक्कै सजाइएका काठेघर अनि स्थानीय उत्पादनको स्वाद चखाउँदै चलाइएका होमस्टेले पर्यटकलाई तान्ने गरेको होमस्टे व्यवसायी धनकुमार आलेले जानकारी दिनुभयो । अन्तु आउनुभएका स्वदेशी पर्यटक गजेन्द्र उप्रेती जति पटक आए पनि अन्तु र कन्याम आइरहँु लाग्ने बताउनुहुन्छ । अन्तुमा तीन हजार पाँच सयदेखि चार हजार पर्यटकले अग्रिम रूपमा होटल बुकिङ गरिसकेको व्यवसायी सङ्घका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
कन्याम पनि पर्यटकले खचाखच भएको कन्यामका होटल व्यवसायी टेकराज गिरीले जानकारी दिनुभयो । विगत चार/पाँच वर्षदेखि अङ्ग्रेजी नयाँ वर्ष पर्वकै रूपमा यहाँ मनाउन थालिएको छ । सीमावर्ती दुई छिमेकी देशका पर्यटकले नेपाली र अङ्ग्रेजी दुवै नयाँ बर्ष उल्लासका साथ मनाउने क्रम बढेको छ ।
कन्याम भ्रमणमा आउने र वनभोजका लागि आउने पर्यटक बढी छन् भने बङ्गाली पर्यटक पनि उल्लेखीय सङ्ख्यामा आएका छन् । कन्याम चियाबारीमा रमाउने पर्यटक बढी भेटिन्छन् । विभिन्न जातजातिको वेशभूषामा सजिएर तस्बिर खिचाउनेदेखि चियाको स्वाद चाख्नसम्म पर्यटक आउने गरेका छन् । सूर्योदय नगरपालिकाले कन्याममा पर्यटकलाई लक्षित गरी सेल्फी पार्क र निजी लगानीमा स्काई वाल्कसमेत निर्माण गरिएको छ । पर्यटक राति अबेरसम्म कन्याममा रमाउने गरेका छन् । भारतको दार्जिलिङबाट आउनुभएका पर्यटक रोशन शर्माले बर्सेनि कन्याम अन्तु आउने गरेको बताउनुभयो ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले स्वदेशी पर्यटकको रोजाइमा परेको अन्तु र कन्याममा पछिल्लो समय भारतीय पर्यटकको समेत आकर्षण बढेको बताउनुभयो । यतिबेला इलामको उच्च हिमाली क्षेत्र सन्दकपुरसमेत पर्यटकले खचाखच छ ।