• १४ मंसिर २०८१, शुक्रबार

बुटवल–गोरुसिङे सडक चार लेनको

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, पुस १६ गते । रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको गोरुसिङेसम्मको सडक ‘चार (फोर) लेन’ मा स्तरोन्नति हुने भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको यो सडकखण्ड स्तरोन्नति गर्नका लागि टेन्डर प्रक्रिया सुरु भएको छ । 

२०२० सालमा बनेको यो सडकखण्ड छ दशकपछि स्तरोन्नति हुने भएको हो । पहिलो खण्ड अन्तर्गत बुटवलदेखि गोरुसिङेसम्म ५० किलोमिटर सडक दुई खण्डमा स्तरोन्नति हुने छ । सडक विभागले बिहीबार ३० दिनको समय तोकेर टेन्डर आह्वान गरेको छ । 

उक्त आयोजनाको लागत अनुमान २२ अर्ब रुपियाँ रहेको छ । तीन वर्षभित्र सक्ने लक्ष्यसहित आयोजनाको टेन्डर आह्वान गरिएको सडक विभाग वैदेशिक सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसीले बताउनुभयो । 

यो आयोजनाको डिजाइनसमेत तयार भइसकेको छ, सडक विस्तार दुई प्याकेजमा बन्ने छ, २५–२५ किमी दुई खण्डबाट बन्ने छ, उपमहानिर्देशक जैसीले भन्नुभयो, “अबको ३० दिनको समय दिएर टेन्डर आह्वान गरिएको छ ।”

बुटवल तिनाउपुलदेखि  गोरुसिङे–चन्द्रौटासम्म सडक स्तरोन्नति योजना भए पनि पहिलो चरणमा बुटवल–गोरुसिङेका लागि टेन्डर आह्वान भएको हो । यो सडक बनेपछि यात्राको समय ४० प्रतिशतले घट्ने अपेक्षा गरिएको छ ।

विश्व बैङ्कको ऋण लगानीमा स्तरोन्नति हुने उक्त आयोजना समयमै सम्पन्न हुनेमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आशा व्यक्त गर्नुभयो । तिनाउमा सिग्नेचर ब्रिजसमेत बन्ने छ, यसले बुटवलको विकासलाई थप टेवा पुग्ने छ भने पर्यटन प्रवर्धनको सम्भावना बढ्ने उहाँको दाबी छ । 

पालिका प्रमुख पाण्डेयले भन्नुभयो, “कर्णाली पुल हेर्न र फोटो खिच्न देशैभरबाट पुगेका छन्, बाटोसँगै तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिजमा पनि मानिसको चासो र आकर्षण त्यस्तै हुने अपेक्षा छ, यस क्षेत्रको सुन्दरताका साथै अर्थतन्त्रमा समेत प्रभाव पार्ने छ ।”

तत्कालीन समयमा पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा राजा महेन्द्रले नवलपरासीको गैँडाकोटमा राजमार्गको शिलान्यास गरी ‘महेन्द्र राजमार्ग’ नामकरण गरिएको थियो । अहिले देशमा गणतन्त्र आएपछि राजमार्गको ‘महेन्द्र’ नाम हटाएर ‘पूर्वपश्चिम’ राजमार्ग कायम गरिएको छ । 

सडक डिभिजन कार्यालय बुटवलका सिनियर डिभिजन इन्जिनियर होमबहादुर एसीले सवारीसाधनको चापले अब सबै राजमार्ग कम्तीमा फोर लेन बनाउन अनिवार्य भइसकेको बताउनुभयो । बुटवल–नारायणगढ ११४ किलोमिटर सडक विस्तारको क्रम चलिरहेको छ । सडक विस्तारले कपिलवस्तुदेखि नारायणगढसम्मको यात्राको समय पनि छोटिएर यात्रा सहज बन्ने देखिन्छ ।