गुल्मी समाचारदाता
गुल्मी, पुस १६ गते । गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा कमी आएको छ । प्रत्येक वर्ष कोदो उत्पादनको क्षेत्रफल घटे पनि उत्पादनमा भने त्यति गिरावट आएको थिएन तर यस वर्ष गत वर्षको तुलनामा ११.५० प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
बिउ छर्ने बेला पानी नपरी खडेरी पर्दा बिउ कम उम्रनुका साथै कोदोमा रोग (छिर्केमिर्के) समेत देखिएकाले कोदो उत्पादनमा कमी आएको भन्दै उहाँले जङ्गली जनावर, खरायोलगायत जनावरले कृषकलाई निकै समस्या दिएको बताउनुभयो । पछिल्लो समय गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन र कोदो खेती अरू खेतीभन्दा झन्झटिलो भएको हुँदा कृषकको आकर्षणसमेत घटेको उहाँले उल्लेख गर्नुभयो ।
पाँच वर्षको कोदो उत्पादनको तथ्याङ्कसँग विश्लेषण गर्दा क्षेत्रफल घटे पनि उत्पादनमा भने स्थिर देखिएको छ । यस जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ८९६ हेक्टर क्षेत्रफलमा तीन हजार २६१ मेट्रिक टन कोदो उत्पादन भएको थियो । जसमा १.१३ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको थियो ।
आव २०७७/७८ मा दुई हजार ९३६ हेक्टर क्षेत्रफलमा तीन हजार ३६१ मेट्रिक टन कोदो उत्पादन भएको थियो । जसमा १.१४ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको थियो । आव २०७८/७९ मा दुई हजार ९०२ हेक्टर क्षेत्रफलमा तीन हजार २७८ मेट्रिक टन उत्पादन भएको थियो । जसमा १.१३ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको थियो ।
आव २०७९/८० मा दुई हजार ९०५ हेक्टर क्षेत्रफलमा तीन हजार ७७६.५ मेट्रिक टन कोदो उत्पादन भएको थियो । जसमा १.३० मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । अहिले दई हजार ८८१ हेक्टर क्षेत्रफलमा तीन हजार ३४१.९६ मेट्रिक टन कोदो उत्पादन भएको छ । जसमा १.१६ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
जिल्लाको इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकालाई कोदोको मुख्य पकेट क्षेत्र मानिएको छ । गाउँघरको मुख्य खानाको परिकारका रूपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा परेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुरूप नेपालले २०७९ पुस १७ गते सो कार्यक्रमको शुभारम्भ गरेको थियो । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली भएको प्रमुख भण्डारीले बताउनुभयो ।