• १३ मंसिर २०८१, बिहिबार

एक सातादेखि सौराहा खचाखच

blog

चितवन समाचारदाता

चितवन, पुस १६ गते । एक सातादेखि चितवनको सौराहाका होटल पर्यटकले खचाखच भएका छन् । गत आइतबारदेखि शनिबारसम्म सञ्चालन भएको हात्ती महोत्सवबाटै पर्यटकको भिड लागेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारीले जानकारी दिनुभयो । 

‘पर्यटकको चहलपहल वृद्धि गर्नकै लागि हात्ती महोत्सव गरेका थियौँ, सफल भयौँ,” उहाँले भन्नुभयो, “त्यसको प्रभावले अहिले सौराहाका ९० प्रतिशत होटलका कोठा बुक भएका छन् ।” 

“पर्यटक नआउँदा तीन महिनादेखि सुनसान बनेको सौराहा अहिले भने धेरै राम्रो भएको छ,” उहाँले भन्नुभयो, “यस्तै चहलपहल कम्तीमा चार महिना मात्र भए बैङ्कको ऋण तिर्न सकिने थियो ।” सौराहा आएकामध्ये ८० प्रतिशत आन्तरिक पर्यटक भएको उहाँले जानकारी दिनुभयो । सोमबारबाट अङ्ग्रेजी नयाँ वर्ष सुरु हुने भएकाले पर्यटकको सङ्ख्या वृद्धि भएको पर्यटन व्यवसायी पार्क सफारी चितवनका सञ्चालक महेश खनालले बताउनुभयो । दुई दिन परेको सार्वजनिक बिदा र नयाँ वर्षले गर्दा होटल एक सातादेखि भरिएको छ । बुकिङ अझै एक सातासम्म रहेको छ । विभिन्न कार्यक्रम लिएर आउने तथा विदेशी पर्यटकले बुक गरेको उहाँले जानकारी दिनुभयो ।  

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईले अन्य समयभन्दा नयाँ वर्षमा पर्यटकको चाप वृद्धि हुने बताउनुभयो । “यस वर्ष भने चार वर्षदेखि रोकिएको हात्ती महोत्सव भएकै कारण पनि पर्यटक बढेका छन् । यहाँ रहेका १६० होटलमा करिब सबै भरिने अवस्था रहेको छ । अहिलेको भिड भेलबाढी जस्तै हो,” उहाँले भन्नुभयो, “सधैँ यस्तै रहने हो भने कायापलट हुने थियो । सौराहाका होटलले एकै पटक छ हजार पर्यटकलाई बास दिन सक्ने क्षमता राखेको छ ।” 

सौराहा आउने पर्यटकको रोजाइ जङ्गल सफारी र यससँग सम्बन्धित विभिन्न क्षेत्रको अवलोकन गर्ने रहेको छ । नेपालको पहाडी क्षेत्रमा चिसो धेरै हुने भएकाले यस समयमा सौराहा रोजाइ हुने गरेको होटल व्यवसायी दामोदर रेग्मीले बताउनुभयो । 

सौराहापछि पश्चिम चितवनको पटिहानी, मेघौली, जगतपुर, कुरिनटारलगायतका होटलमा पनि अहिले पर्यटकको राम्रो सङ्ख्या भएको पर्यटन क्षेत्रका विज्ञ विश्व सुवेदीले बताउनुभयो । छोटो बिदामा नजिकैका राम्रा स्थानमा जाने वानीको विकास भएकाले काठमाडौँ, पोखरा, तराइ क्षेत्रबाट आन्तरिक पर्यटक चितवन आउने गरेको उहाँले बताउनुभयो । 

विगतका वर्षमा भन्दा अहिले जङ्गल सफारीका लागि प्रवेश गर्नेको सङ्ख्या वृद्धि भएको चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।