काठमाडौं, पुस १५ गते। चीनबाट अनुदानमा प्राप्त भएको कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा सिनोभ्याक खोप खेर गएको छ।
सेवा विभागको व्यवस्थापन महाशाखाका अन्तर्गतको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार कोरोना भाइरसविरुद्धको ४० लाख सिनोभ्याक खोप खेर गएको हो।
यो खोप डिसेम्बरसम्मको मिति थियो। यो अवधिमा प्रयोगमा नआएकाले उक्त खोपको म्याद सकिएको डा. चौरासिया बताउनुहुन्छ। यो बिचमा सरकारले खोप फिर्ता लैजान विभिन्न देशलाई पटक पटक पत्राचार गर्दा पनि कुनै पनि देशले खोप फिर्ता लैजाने चासो नदेखाएपछि यसको मिति गुज्रिएको हो।
चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा पाँच लाख गरी ४० लाख खोप नेपाल भित्रिएको थियो। खोपले अस्पतालमा भर्ना दर ६४.६ प्रतिशत घटाउने र गम्भीर बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी रहेको विभिन्न अध्ययन देखाएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र खोप सल्लाहकार समितिले सिनोभ्याकको खोप बुस्टर डोजको लागि योग्य नभएकोले बुस्टरको रूपमा प्रयोग नगर्न आग्रह गरेको थियो। बुस्टर डोजका लागि योग्य नभए पनि पहिलो र दोस्रो डोजको लागि प्रयोग गर्न डब्लुएचओको सुझाव थियो। खोप उपलब्ध हुँदा अधिकांश नेपालीले पहिलो खोप लगाइसकेका थिए त्यसैले त्यो खोप प्रयोगमा नआएको चौरासियाको भनाइ छ।
सरकारले कोरोना नियन्त्रण गर्न छ करोड १७ लाख ७६ हजार ७७० डोज खोप प्राप्त गरिसकेको छ। जसमध्ये ३७ प्रतिशत खरिद गरेको, ३३ प्रतिशत कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध भएको र ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा उपलब्ध गराएका थिए।
सन् २०१९को अन्तिममा विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई डब्लुएचओले सन् २०२० मार्चमा महामारीको रूपमा घोषणा गरेको थियो। केही महिनाअघि डब्लुएचओको आपत्कालीन समितिको बैठकले कोभिड–१९ लाई अन्तर्राष्ट्रिय सरोकारको जनस्वास्थ्य सङ्कटकाल अन्त्य गर्ने निर्णय गरिसकेको छ। अब कोरोना भाइरस पनि रैथाने रोगका रूपमा परिणत भएर बेला–बेला बढ्न सक्ने विज्ञको तर्क छ।