• २१ असार २०८१, शुक्रबार

नौवस्ता बालसुधार गृहका बालबन्दीबिच झडप

blog

बालसुधार गृह रहेको नौवस्तास्थित क्षेत्रीय कारागार ।

गजेन्द्र गुरुङ

खजुरा, पुस १५ गते । बाँकेको नौवस्तामा रहेको बालसुधार गृहका बालबन्दीबिच विवाद हुँदा झडप भएको छ । बाँकेको बैजनाथ –३, गाभरस्थित नौवस्तामा रहेको क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बाल बिज्याइँकर्ताबिच तनाव उत्पन्न हुँदा झडप भएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले जानकारी दिनुभयो ।

बालसुधार गृहमा रहेका १८ बर्षमाथिका बाल बिज्याइँकर्ताबिच हिजो रातिदेखि नै झडप भएको प्रजिअ पोखरेलले बताउनुभयो । उहाँका अनुसार दुईवटा ब्लकमा रहेका बालबन्दीबिच हिजो रातिदेखि झडप भएको थियो । सो झडपमा परी चारजना बालबन्दी घाइते भएको र उनीहरुको अस्पतालमा उपचार गरिएको छ ।  

एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना गरी राखिएका बालबन्दीहरुले एकआपसमा ढुङ्गा प्रहार गरेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । आज फेरि दिउँसो ४ बजेतिर एकआपसमा हानाहान गर्दा एकजना बालबन्दी घाइते भएको र घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्न पठाइएको उहाँले बताउनुभयो ।

प्रजिअ पोखरेलका अनुसार अहिले पनि बालबन्दीहरु एकआपसमा ढुङ्गा हानाहान गरिरहेका छन् । सुरक्षाकर्मीमाथि पनि उनीहरुले ढुङ्गा प्रहार गरेका छन् । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा बल त्यहाँ खटाइएको छ । अवस्था अहिले अवस्था सामान्य बन्दैगएको उहाँले बताउनुभयो ।

बालसुधार गृहमा देशका विभिन्न बालसुधार गृहमा हुलदङ्गा गरेका तथा तोडफोड गरेका १८ बर्ष उमेर समुहमाथिका विभिन्न जिल्लाका १ सय १६ जना बालबन्दीहरु रहेका छन् । गत असोज ४ गते बाँकेकै डुडुवा –६ स्थित जयन्दु बालसुधार गृहका बालबन्दीबिच एकआपसमा झडप हुँदा एकजना बालबन्दीको मृत्यु भएको थियो ।