इमानसिं राना
रामपुर (पाल्पा), पुस १५ गते । आगोलागीबाट पाल्पाको एक घरमा क्षति भएको छ । रामपुर नगरपालिका –८ एक्लेटार खम्चुवास्थित रामप्रसाद न्यौपानेको घरमा आगोलागी हुँदा घरमा क्षति पुगेको हो ।
घरमा विद्युत सर्ट भइ आइतबार दिउँसो साढे २ बजेको समयमा न्यौपानेको तीन तले घरमा आगोलागी भएको थियो । रामपुर नगरपालिकाको दमकलको सहयोगमा प्रहरी र स्थानीयले पौने ४ बजेको समयमा आगो नियन्त्रणमा लिएको छ ।
आगोलागीबाट न्यौपानेको घर पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो । आगोलागीबाट घरभित्रको अन्नपात, लत्ताकपडासहित नगद ९२ हजार र ३ तोला सुन समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोलागी बाट २५ लाखभन्दा बढीको क्षति भएको छ ।